दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

सर्लाहीमा जलाउन ठिक्क पारेको युवतीको शव प्रहरीले उठायो, पतिसहित ३ जना पक्राउ

जनकपुरधाम । सर्लाहीको रामनगरस्थित मनुषमारा घाटमा जलाउन ठिक्क पारेको अवस्थामा प्रहरीले एक युवतीको शव चिताबाट नियन्त्रणमा लिएको छ ।

सर्लाहीको रामनगर गाउँपालिका-१ खैर्वाका सुनिल साहकी श्रीमती २१ वर्षीया मनिषा साहको शव प्रहरीले चिताबाट नियन्त्रणमा लिएको हो ।

बुधबार दिउँसो मनुषमारा घाटमा जलाउन ठिक्क पारेको अवस्थामा मनिषाको शव नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी दीपेन्द्र पंजियारले जानकारी दिए ।

घटना शंकास्पद देखिएपछि घाटबाटै प्रहरीले युवतीका पतिसहित परिवारका तीन जना सदस्यलाई पनि नियन्त्रणमा लिएको छ ।

पति सुनिल, ससुरा रामेश्वर र देवर रामबाबुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान गरिरहेको डिएसपी पंजियारले बताए ।

परिवारका सदस्यले छारे रोगकी बिरामी मनिषाले आत्महत्या गरेको दाबी गरेका छन् । डिएसपी पंजियारका अनुसार पासो लागेर आत्महत्या गरेको जस्तो देखिएको छ र संकलित प्रमाणको आधारमा घटनाको अनुसन्धान भइरहेकोछ ।

आत्महत्या गरे पनि प्रहरीलाई जानकारी र कानुनी प्रक्रिया पूरा नै नगरी शव जलाउन खोजेकाले पतिसहित तीनैजनालाई पक्राउ गरेको डिएसपी पंजियारले बताए ।

घाटमै प्रहरी पुगेपछि केही मलामी भागेका थिए । मनिषाको गलामा निलडाम देखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहिबार  १ : ०२ बजे