पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले चिकित्सकलाई पिटेर आएँ भन्ने प्रहरी निरीक्षक (इन्सपेक्टर) मदन श्रेष्ठलाई निलम्बनको सिफारिस गरेको छ ।
जिप्रकाले श्रेष्ठलाई निलम्बनको सिफारिस गृह मन्त्रालयलाई गरेको हो । मणिपाल शिक्षण अस्पतालमा बिरामीका आफन्त र चिकित्सकसँगको विवाद साम्य बनाउन र शान्ति सुरक्षा कायम गर्न खटिँदा उनीमाथि चिकित्सकहरुलाई साफ चुटेर आएँ भन्दै भीडलाई उक्साएको आरोप लागेको थियो ।
श्रेष्ठमाथि छानबिन गर्न प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशसिंह कोइरालाको संयोजकत्वमा समितिसमेत बनेको छ । सोमबार मणिपाल अस्पतालमा उपचारचार ५७ वर्षीया सुकमाया दुराको निधन भएपछि दुराका आफन्त र चिकित्सकबिच विवाद उत्पन्न भएको थियो ।
चिकित्सकमाथि हातपात भएको भन्दै अहिले चिकित्सकहरु आन्दोलित छन् । यसबाट मणिपालमा भर्ना भई उपचार गराइरहेका अरु बिरामीहरुको उपचार पनि प्रभावित भएको छ । चिकित्सकहरुले आफूहरुको मनोबल गिरेको भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।
प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार २ : ४७ बजे
प्रतिक्रिया