‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

असोज २५ गतेदेखि दसैँका लागि नयाँ नोट साट्न पाइने

काठमाडौँ । दसैँ-तिहार लक्षित यस वर्ष असोज २५ गतेदेखि सुकिला नयाँ नोट साट्न पाइने भएको छ।

केन्द्रीय बैंकले घटस्थापनाको आसपास पारेर असोजको अन्तिम सातादेखि सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा प्रदान गर्ने तयारी गरेको हो।

विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि रु. ५, रु. १०, रु. २०, रु. ५० र रु. १०० दरका एक–एक गड्डी गरी प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट सटहीको सुविधा प्रदान गरिने नेपाल राष्ट्र बैंकका मुद्रण विभाग प्रमुख एवम् कार्यकारी निर्देशक ईडी नरेश शाक्यले जानकारी दिनुभयो ।

‘दसैँतिहारका लागि कति नयाँ नोट चाहिन्छ अहिले नै यकिन भएको छैन । तर, विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ सटही सुविधा दिने गरी हामीले तयारी गरेका छौँ’ कार्यकारी निर्देशक शाक्यले भन्नभयो।

बजारको माग र आवश्यकताका आधारमा केन्द्रीय बैंकले आवश्यक सुकिला नोटको व्यवस्था गरेको बताउँदै कार्यकारी निर्देशक शाक्यले उपत्यकासहित देशका सात वटै प्रदेशस्थित राष्ट्र बैंकको शाखा कार्यालयहरूमार्फत सर्वसाधारणका लागि नोट सटही सुविधा उपलब्ध गराइने बताउनुभयो । 

मागका आधारमा क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्था र सहकारी संघ संस्थाहरूलाई समेत नयाँ नोट सटहीको सुविधा उपलब्ध गराउने शाक्यले बताउनुभयो ।

सर्वसाधारण सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै केन्द्रीय बैंकले पहिलो पटक क्यास सटहीमा क्यूआरको प्रयोग गर्ने तयारी गरेको छ। सेवाग्राहीको भिडभाड र सहजताका लागि यस्तो व्यवस्था गर्न लागिएको कार्यकारी निर्देशक शाक्यले जानकारी दिनुभयो ।

यस्तो क्यूआर सुविधा राष्ट्र बैंकको केन्द्रीय कार्यालयसहित सबै सटही काउन्टरहरूमा उपलब्ध हुनेछ। तर, अन्य बैंक तथा वित्तीय संस्थाहरूले भने आफू अनुकूल सटहीको सुविधा लिन सक्ने उहाँले बताउनु भयो । यसअघि नगद सटहीमा यस्तो सुविधाको व्यवस्था गरिएको थिएन । 

 

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  १ : १६ बजे