बालेनविरुद्धको आन्दोलन लम्बियो

काठमाडौँ – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्ध सामाजिक अभियन्ता ईः ले उभिएर विरोध प्रदर्शन गर्दै आएका छन् ।

सामाजिक अभियन्ता ईः ले गत मंगलबार दिउँसो १ बजेबाट ७७ घन्टे आन्दोलन थालेका थिए । राष्ट्रिय सभागृहपरिसरमा उभिएर ईः ले आफ्नो आन्दोलन थप एक सय ९९ घन्टासम्म लम्ब्याउने घोषणा गरेका छन् । 

ईः ले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेनले चुनावअघि गरेका वाचाहरु पूरा गर्नुपर्ने माग राख्दै आन्दोलन गर्दै आएका छन् । उनले फुटपाथ व्यवसायीको उचित व्यवस्थापन गर्ने भनि प्रमुख बालेनले गरेको आफ्नो वाचा पूरा गर्न दबाब दिइरहेका छन् ।

प्रमुख बालेनविरुद्ध ‘चमेली समूह’ अभियान सुरु गर्ने केही स्वतन्त्र युवाहरूले ६ दिनदेखि राष्ट्रिय सभागृहपरिसरमा उभिएर विरोध प्रदर्शन गर्दै आएका  छन् । ईःको आन्दोलनलाइ फुटपाथ व्यवसायीहरूले पनि साथ् दिंदै आएका छन् । 

आन्दोलनमा रहेका युवाहरुले ‘सहर सबैका लागि कि धनीका लागि मात्रै ?’ भन्दै बालेनलाई प्रश्न समेत गरेका छन् । उनीहरूले ‘गरिब होइन, गरिबी हटाऊ’, ‘गरिखान देऊ’, ‘विकल्प देऊ’जस्ता नारा लेखिएका पर्चाहरू प्रदर्शन गर्दै आएका छन् ।

महानगरले विभिन्न समयमा ठेलागाडा, साइकल व्यवसायीको सामान जफत गर्ने, सडकमै ती व्यवसायीमाथि हातपात गर्ने, लखेट्नेजस्ता अमानवीय क्रियाकलाप गर्दै आएको छ ।​​​​​​​

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ९ : २९ बजे