राष्ट्रपति पौडेलले आज जानकी मन्दिरमा विशेष पूजाअर्चना गर्ने

जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेलले आज जनकपुरधाम भ्रमणका क्रममा जानकी मन्दिरमा विशेष पूजाअर्चना गर्नें हुनुभएको छ ।

नेपाली सेनाको हवाईजहाजबाट राष्ट्रपति पौडेल काठमाडौंबाट बिहान ८ः४० बजे जनकपुर विमानस्थल आइपुग्नु हुनेछ । उहाँलाई जनकपुर विमानस्थलमा मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र, मुख्यमन्त्री सरोज यादव, पूर्वउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, संघीय सांसद, नगरप्रमुख तथा सुरक्षा निकायका प्रमुखले स्वागत गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति पौडेल विमानस्थलबाट सिधै जानकी मन्दिरका लागि प्रस्थान गर्नुहुनेछ । त्यहाँ जानकी मन्दिरका मूल महन्त रामतपेश्वर दाससहित प्रदेशका मन्त्री तथा सांसदले स्वागत गर्नेछन् ।

आधा घण्टा जानकी मन्दिरमा बिताउँदा राष्ट्रपति पौडेलले सो क्रममा जानकी माताको विशेष पूजाअर्चना, अखण्ड दीप प्रज्वलन गर्नुका साथै सीता माताको माइती घर दर्शन, अखण्ड कीर्तन दर्शन र महन्तको कक्षमा प्रसाद ग्रहण तथा छोटो विश्राम गर्ने कार्यक्रम रहेको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले बताए ।

जानकी मन्दिरमा पूजाअर्चना पश्चात प्रदेश प्रमुख, सभामुखसँग जलपान र नेपाल राष्ट्र बैंकको अतिथि निवासमा विश्राम तथा दिवा खानाको कार्यक्रम रहेको छ ।

राष्ट्रपति पौडेलले महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको समुद्घाटन गर्ने कार्यक्रम रहेको सहरी विकास मन्त्रालयअन्तर्गतका संघीय आयोजना कार्यान्वयन एकाइ कार्यालय धनुषाका प्रमुख प्रदीप खनालले जानकारी दिए ।

खनालका अनुसार राष्ट्रपति पौडेलले दिउँसो १ बजे महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र सभाहलको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । समुद्घाटन कार्यक्रम पश्चात सोही सभाहलमा जनकपुरधाम उपमहानगरपालिकाका तर्फबाट राष्ट्रपति पौडेलको नागरिक अभिनन्दन समारोहको आयोजना गरिने कार्यक्रम रहेको छ ।

राष्ट्रपति पौडेल दुवै कार्यक्रम पश्चात अपराह्न ३ बजे काठमाडौं फर्किनु हुनेछ ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ७ : ३८ बजे