टुहुरो पुष्पा र अञ्जलीलाई कोशीटप्पु पठाइँदै

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुई वटा टुहुरा गैँडा पुष्पा र अञ्जलीलाई कोशीटप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ ।

असोज १० गते उक्त दुई गैँडालाई कोशीटप्पु पठाउन लागिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक वार्डेन गणेश प्रसाद तिवारीले बताए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको निर्णय अनुसार उक्त दुई गैँडा कोशीटप्पु आरक्षमा स्थानान्तरण गर्न लागिएको उनको भनाइ छ । कोशीमा प्राविधिक समितिले गरेको अध्ययनमा गैँडाका लागि बासस्थान उपयुक्त देखिएपछि गैँडा त्यहाँ पठाउन लागिएको हो ।

विभागका तत्कालीन उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा बनेको प्राविधिक समितिले विस्तृत अध्ययनपछि प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा कोशीमा गैँडाको उपयुक्त बतावरण निर्माणका साथै सुरक्षा व्यवस्थाको प्रबन्ध मिलाएर लान भनिएको ढकालले बताए ।

कोशीटप्पु वन्यजन्तु आरक्षमा हाल गैँडा छैनन् । चितवनबाट लगिएका गैँडालाई खुल्ला खोरमा केही समय राखेपछि त्यहाँको बातावरणमा घुलमिल भएपछि प्रकृतिमा छाडिने निकुञ्जले जनाएको छ । कोशीको पथरी सेक्टर कार्यालयको आरक्ष सुरक्षार्थ रहेको सेनाको पोष्ट क्षेत्र नजिक गैँडालाई राखिनेछ ।

चितवन राष्ट्रिय निकुञ्जका वार्डेन तिवारीले उद्धार गरेर सौराहामा हुर्काएपछि गत वैशाख ३१ गते निकुञ्जको लामिताल क्षेत्रमा छाडिएका दुई वटा गैँडा कोशी पठाउन लागिएको बताए । ती दुवै पोथी गैँडा हुन् । ती गैँडा तमासपुर र कुजौली क्षेत्रमा माउबाट छुट्टिएर अवस्थामा अन्दाजी दुई र एक महिना उमेरमा उद्धार गरिएको थियो ।

अहिले पुष्पा करीब चार वर्ष र अञ्जली अढाई वर्ष उमेरका छन् । गैँडा पठाउनका लागि सबै तयारी भइसकेको निकुञ्जका सूचना अधिकारी समेत रहेका गणेशप्रसाद तिवारीले बताए । गैँडा पठाउनका लागि पुरानो खोरलाई पनि मर्मत गरिएको छ । पछिल्लो गणना अनुसार चितवनमा ६ सय ९४ गैँडा रहेको तथ्याङ्क छ ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ४ : २९ बजे