साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

 काठमाडौँ महानगरपालिकाको श्रम बैङ्कमा चार सय आवेदन

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाको श्रम बैङ्कमा चार सय आवेदन परेका छन् । गत भदौ पहिलो साता कामपाले सीप भएका तर रोजगार नभएका जनशक्तिलाई श्रम बैङ्कमा आबद्ध हुन माग गरेको सूचनाअनुसार चार सय आवेदन परेका कामपा प्रशासन महाशाखा प्रमुख सरिता राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार कामपाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजनाअन्तर्गत श्रम बैङ्क सञ्चालन गर्ने नीति लिएको थियो । सोही अनुसार महानगरले आवेदन माग गरेको हो । “यसबाट सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मतसम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी शुव्यवस्था कायम गराउनेलगायत क्षेत्रमा काम गर्न चाहिने जनशक्तिको सूचीकरण हुनेछ”, प्रमुख राईले भन्नुभयो । उहाँका अनुसार केन्द्रमा एक महिनाको अवधिमा चार सय आवेदन परेका छन् । कामपाका ३२ वटै वडामा आवेदन आएको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो ।

कामपाले श्रम बैङ्क सञ्चालनका लागि कार्यविधि तयार गर्ने काम गरिरहेको जनाउँदै सङ्कलन भएका आवेदनबाट प्राथमिकिकरण र वर्गीकरणको काम भइरहेको प्रमुख राईले जानकारी दिनुभयो । “बेरोजगारका लागि एउटा आधार तयार गरिदिने उद्देश्यले श्रम बैङ्कमा श्रमिकलाई आबद्ध गराइएको हो”, उहाँले भन्नुभयो, “कामपाले तयार गरेको श्रम बैङ्कमा श्रमिकको नाम हुन्छ । जहाँ श्रमिकको ज्यालादर, कामको प्रकार फोन नं र श्रमिक कहाँ बस्नेलगायत विवरण उल्लेख गरिएको हुन्छ ।”

कार्यक्रमको मुख्य उद्देश्य सहज रुपमा श्रमिक उपलब्ध गराई सीप क्षमता भएका श्रमिकलाई काममा लागाई उचित पारीश्रमिकको व्यवस्था गर्नु रहेको प्रमुख राईले बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षका लागि काम गर्न इच्छुक व्यक्तिले आवेदनमा काम गर्न चाहेको कामको विवरण, आफूले काम गरेको भए अनुभवको क्षेत्रलगायत विवरण भर्नुपर्ने छ ।

राईका अनुसार आवेदन फाराममा विभिन्न ६४ प्रकारका काम उल्लेख गरिएका छन् । फाराम आफू बसेको वडामा अथवा कामपाको रोजगार सेवा केन्द्रमा बुझाउन पर्ने उहाँले बताउनुभयो । “श्रम बैङ्कमा आबद्ध हुन स्थायी ठेगाना जहाँ भए पनि हुन्छ तर काठमाडौँमा बसोबास भएको हुनुपर्ने छ”, प्रमुख राईले भन्नुभयो, “यस कार्यक्रमले आवश्यक पर्ने श्रमशक्तिको उपलब्धता सहज हुनेछ ।” उहाँका अनुसार यसमा सूचीकृत जनशक्तिलाई अन्य सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा समेत उपलब्ध गराउन सकिने व्यवस्था रहेको छ ।
 

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  १२ : ५७ बजे