‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

जयन्दु बाल सुधार गृहका चार थुनुवा अझै फरार

बाँके । बाँकेको डडुवा गाउँपालिका–६ मा रहेको जयन्दु बाल सुधार गृहमा भएको झडपपछि फरार भएका ४ जना थुनुवा अझै सम्पर्कमा आएका छैनन् । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले सुधार गृहबाट भागेकाहरूको खोजी भइरहे पनि अझै चार थुनुवा फरार रहेको बताउनुभयो ।  

जयेन्दु बाल सुधार गृहमा बिहीवार राति दुई समूहबीच झडप हुँदा ११ जना घाइते भएका थिए भने ९ जना थुनुवाहरू फरार भएका थिए । घाइतेमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।

मृत्यु हुनेमा कञ्चन गाउँपालिका-४ रूपन्देहीका १८ वर्षीय सुलभ केसी छन्। उनी अपहरण शरीर बन्धक र जबरजस्ती करणी मुद्दामा दोषी ठहर भइ सजाय काटिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। झडपमा घाइते भएका छ जना उपचार पछि सुधार गृहमा ल्याइसकिएको छ भने चार जनाको अझै पनी नेपालगन्ज शिक्षण अस्पतालमा उपचाररत भइरहेको छ । 

‍झडपमा थुनुवाले सुधार गृहको भवनका झ्यालका सिसा, रेलिङ, बार भत्काएका थिए भने सुधार गृहमा रहेको दुई मोटरसाइकल, एउटा कम्प्युटर तोडफोड गर्नुका साथै प्रहरी पोसाकमा  आगजनीसमेत गरेका थिए । भत्केकाे भवनलाई अहिले प्रहरीले चारैतिरबाट घेरेर सुरक्षा दिइरहेकाे छ । दुई ब्लक रहेको उक्त सुधार गृहमा अहिले भने अवस्था सामान्य रहेको प्रहरीले जनाएकाे छ ।  बाल सुधार गृहमा २५४ जना बसिरहेका छन् भने तीमध्ये १६५ जना १८ वर्ष माथिका रहेका छन्।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ९ : ५५ बजे