साफ यू–१७ च्याम्पियनसिप आजदेखि

एकअर्कालाई नचिनेरै चलिरहेको नेपाल-चीन सम्बन्ध

यात्रु हतार हतार आफ्ना हातेझोला ‘ब्यागेज स्क्यानर’ मा राख्दै थिए। धेरै यात्रुले एकैपटक पेटी र झोला खोल्न थालेको घ्यारघ्यार आवाज आइरहेको थियो। चीनको जनमुक्ति सेनाको पोशाक लगाएका कलिलो उमेरका सैनिक अधिकृतहरूले एकअर्काबीच गरेका कुराकानी र चिनियाँ भाषामा गरिएको ‘एअरपोर्ट अनाउन्समेन्ट’ सुन्न सकिन्थ्यो।

ट्रेमा पेटी, घडी, मोबाइल फोन, औंठी राखें। त्यही ट्रेसँगै आफ्नो ‘ब्यागेज स्क्यानर’ मा राखेर ‘वाक-थ्रू गेट’ तर्फ अघि बढें। सबै यात्रु मेटल डिटेक्टर, एक्स-रे मशिन, विस्फोटक पदार्थ भए-नभएको पत्ता लगाउने स्क्यानर र स्निफर कुकुरहरू लिई तम्तयार बसेका सैनिकबाट घेरियौं।

वाक-थ्रू गेटबाट निस्किएर आफ्नो शरीरको सुरक्षा जाँच सकेर एक्स-रे मशिनबाट निस्किएको आफ्नो हाते झोलातर्फ हात बढाउन मात्र के लागेको थिएँ, एक सैन्य कर्मचारीले ‘पासपोर्ट, पासपोर्ट’ भन्दै हात लम्काए। उनको बोली अलि ठाडो थियो। मैले हतारिंदै आफूसँग भएको पासपोर्ट उनलाई दिएँ।

बोर्डिङपास नमागीकन किन सोझै पासपोर्ट मागेको होला भन्ने लाग्यो। तर, पासपोर्टभित्रको परिचयात्मक विवरण र भिजाको अवधि केही पनि नहेरी उनले मलाई हातेझोला खोल्न भने। ‘केही बिराएँ कि?’ भन्ने लाग्यो।

तैपनि नआत्तिईकन हातेझोलाको अगाडिपट्टिको भाग खोलें। त्यसमा राखिएका केही किताब र एउटा ल्यापटप स्पष्ट देखिन्थ्यो। हातेझोलाको अर्को खण्डमा भने डायरी, म्यागजिन, कलम, इअरफोन जस्ता दैनिक प्रयोगका चिजहरू थिए। हातेझोलाको सबैभन्दा सानो खण्ड खोल्दा त्यहाँ मोबाइल चार्जरसँगै टाँसिएर बसेको एउटा सानो नेलकटर भेटियो।

त्यो नेलकटर देख्ने बित्तिकै ती सैनिकले अझै हतारिएर हात अगाडि बढाए। चार्जरलाई बेवास्ता गरेर पन्छाउँदै नेलकटर आफ्नो हातमा लिए। नेलकटरलाई ओल्टाइपल्टाइ गरेर निकै गहिरोसँग हेरे। उनले त्यसलाई निकै गम्भीर वस्तुका रूपमा लिएको महसूस गरें मैले। एकाएक फेरिएको उनको अनुहारले नै बताइरहेको थियो, त्यो नेलकटर हातगोडाका नङ काट्ने साधारण सामग्री मात्रै नभएर हतियार नै थियो।

नेलकटर देख्दा शुरूमा आफैं छक्क परें। नङ उप्क्याउने सानो चक्कु पनि नभएको त्यो नेलकटर मेरो हातेझोलामा कसरी पर्‍यो भनेर सोच्दै थिएँ, ती सैनिकले पासपोर्टमा मेरो तस्वीर सहितको परिचयात्मक विवरण भएको पाना पल्टाए। त्यससँगै नेलकटर राखेर आफ्नो स्मार्टफोनले फोटो खिचे। म हैरान त भएको थिएँ नै, चकित पनि भएँ।

‘११-सेप्टेम्बर’ को आक्रमण पश्चात् यात्रुले विमानस्थलमा भोग्दै आएको हैरानीबारे धेरै सुनेको थिएँ। मलाई त्यति हैरानी नभए पनि तनाव भने भयो। मनमा प्रश्नको शृङ्खला नै चल्यो- किन त्यसरी फोटो खिचेको होला? अब त्यो फोटो के गर्ने होला? के नेलकटर विमानयात्रामा निषेधित वस्तु हो? के त्यसलाई सामान्य ‘मेटल अब्जेक्ट’ भन्दा भिन्न वस्तुका रूपमा लिइन्छ? पासपोर्टको विवरण त अध्यागमन विभागले हेर्ने विषय होइन र?

फोटो खिचिसकेपछि उनले मेरो पासपोर्ट फिर्ता दिए। मैले पासपोर्ट लिएँ र मुसुक्क हाँसेर अगाडि बढें। नेलकटर भने उनले आफू नजिकैको एउटा ट्रासबिनमा फालिदिए।

चीनको तिब्बत विमानस्थलमा भएको यो घटना अहिले पनि वेलाबखत सम्झनामा आउँछ। साथै, त्यो फोटो के गरियो होला भन्ने प्रश्न मनमा जागृत हुन्छ। अध्यागमन, एअरलाइन्स र सुरक्षा निकायमा कार्यरत नजिकका साथीहरूलाई यो अनुभव सुनाउँदा उनीहरू कुनै ठोस जवाफ दिन नसकेर अलमलिने गर्छन्।

अन्तर्राष्ट्रिय सम्बन्धको विद्यार्थी भएकाले होला, म भने त्यस घटनालाई अलि फरक तरीकाले हेर्छु। नेपाल-चीन मामिलाबारे अध्ययन-अध्यापन गरिरहेकाले यस घटना दुई देशको सम्बन्धका विविध आयामबारे चिन्तनका लागि झकझक्याउने प्रसङ्ग बन्यो।

यो सन् २०१६ को जुलाईको पहिलो साताको प्रसङ्ग हो। तिब्बत विमानस्थलमा दोस्रो पटक पुगेको थिएँ। एअर कन्डिसनले चिसो बनाइएको तिब्बत विमानस्थल त्यस घटनापछि मेरा लागि अचानक गरम लाग्यो। खलखली पसिना आयो। आफैंले गल्ती गरेको बोध भयो।

त्यो गल्तीबोधसँगै आफ्नो हातेझोलामा त्यो नेलकटर कसरी आइपुग्यो भन्ने प्रश्नले सताइरह्यो। के मैले नेपालबाट चीन आउँदा नेलकटर लगेजमा राखेको थिएँ? पछि, प्रयोगकै सिलसिलामा त्यो हातेझोलामा आइपुगेको हो? ठम्याउनै सकिनँ।

तिब्बत विमानस्थलमा मनमनै अनेक तर्कनाका लहर दौडिरहँदा मेरो नजर चिनियाँ क्रान्तिका मुख्य नेता माओत्सेतुङ र चिनियाँ राष्ट्रपति सी चिनफिङका ठूला ठूला तस्वीरमा परे। ती तस्वीर अत्यन्त सम्मानका साथ राखिएका थिए। तिनको प्रयोजन विमानस्थल सिंगार्ने त पक्कै थिएन। त्यसकारण कुनै विशेष समारोहका सन्दर्भमा राखिएको हुन सक्ने अनुमान गरें।

हुन त चीनको कानून अरू देशको भन्दा फरक छ भन्ने नसुनेको पनि होइन। तैपनि झुक्किएर नेलकटर हातेझोलमा पर्नु गल्ती थियो भनेर स्विकार्ने आँट समेत मसँग थिएन। एक त तीन महीना चीन बसेर फर्किंदा पनि चिनियाँ भाषामा ‘नमस्ते’ (निहाओ) र ‘धन्यवाद’ (सेसे) भन्नु बाहेक अन्य भाषिक ज्ञान हुन सकेन।

अर्को, तिब्बतप्रति चिनियाँ संस्थापनको सुरक्षाचासोबारे आफू जानकार हुँदाहुँदैै पनि किन यस्तो घटना हुन पुग्यो भन्ने चिन्ता थियो। खासगरी तिब्बतको सुरक्षालाई चिनियाँ संस्थापनले लिने गम्भीरताको व्यावहारिक पाटो बुझ्न सकेको रहेनछु।

यो घटना तिब्बत एअरपोर्टमा घटेको भए पनि त्यस ठाउँ वरिपरिको वातावरण र यथार्थबारे मलाई धेरै कुरा थाहा थिएन। त्यसैले पनि आफ्नो बुझाइलाई कहिले तिब्बतसँगका अनुभव त कहिले तिब्बतका ऐतिहासिक घटनाक्रममा लगेर बुझ्ने र बुन्ने दुवै प्रयास गर्न थालें।

केही दृश्यहरू दिमागमा अङ्कित थिए- बाल्यकालमा स्कूल जाँदा-आउँदा बौद्धतिर देखिने तिब्बती भिक्षुहरू। त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागको कक्षाकोठामा पढाइने तिब्बत। नेपालका सञ्चारमाध्यमले प्रस्तुत गर्ने तिब्बत। नेपाल र चीनबीच रहेको तिब्बत। चीन र भारतबीचमा रहेको तिब्बत। भारतीय सञ्चारमाध्यमले प्रस्तुत गर्ने तिब्बत।

त्यस्तै, अमेरिकी बुझाइको तिब्बत। अमेरिकी सञ्चारमाध्यमले प्रस्तुत गर्ने तिब्बत। दलाई लामा हुँदा र नहुँदाको तिब्बत। सन् १९५० अघि र पछिको तिब्बत। तङस्याओ पिङको उदयअघिको अभावग्रस्त तिब्बत र अहिलेको समृद्धितर्फ उन्मुख तिब्बत।

त्यस वेला तिब्बतको एअरपोर्ट सम्बन्धी मेरो बुझाइ ती अनेकन् दृश्यहरूबाट अप्रभावित थिए भन्न सक्दिनँ। यसबाट के बुझ्न सकिन्छ भने जब एउटा देशको नागरिकले अर्को छिमेकी देशको भाषा, भेष, धर्म, संस्कृति, सुरक्षा, राजनीति आदिबारे त्यहीं बसेर अनुभूत गर्न सक्दैन, अनि त्यस देशमाथि उत्पादित ज्ञानको सहयोग लिन पुग्छ। म पनि चीनलाई बुझ्ने प्रयत्न त्यसरी नै गर्दै थिएँ।

पेशाले प्राध्यापन गर्ने भएकाले होला शायद मेरो व्यक्तिगत अनुभवलाई आर्जन गरेको बुझाइ र प्राप्त गरेको ज्ञानले मानसिक चित्रमा परिणत गर्‍यो। फलस्वरूप तिब्बतको चित्रण सम्बन्धमा नेपाल र नेपाल बाहिर उत्पादन हुने ज्ञानको संसारमा रम्न पुगें। तिब्बत चीनको अभिन्न अङ्ग भएको कुरा नेपालको परराष्ट्र नीतिमा पञ्चायती शासनकालयता पुनरुत्पादित ज्ञानको उपज भए पनि १९१२ सालको नेपाल-भोट युद्ध वा त्योभन्दा अघि नै भीमसेन थापा कालदेखि नै चीनमा नेपालले सौगात पठाउने अभ्यास पनि तिब्बतमा चिनियाँ सम्प्रभुताको स्वीकारोक्ति थियो जस्तो लाग्छ।

चीनमा तिब्बतको विलय नहुँदाको समयसम्म तिब्बतमा धेरै नेवारी कामदार र व्यवसायी रहेको तथ्य लिच्छविकालीन, मल्लकालीन इतिहास हुँदै आधुनिक नेपालको इतिहासमा प्रशस्तै पाइन्छ। तिब्बतमा रहेका चिनियाँ अम्बानसँग विभिन्न चरणमा भएका चिठीपत्रको आदानप्रदानले नेपालको कूटनीतिक इतिहासका पानाहरू भरिएका छन्। नेपालको प्रतिनिधित्व गर्दै तिब्बतमा खटाइएका वकीलहरूको कूटनीतिक संलग्नतालाई परराष्ट्र नीतिको उल्लेखनीय अभ्यासका रूपमा लिने गरिन्छ। नेपाल-भोट युद्ध नेपालको रणनीतिक मामिला र सैनिक इतिहासमा पढ्ने-पढाउने विषय बन्दै आएको छ।

तिब्बतबाट नेपाल ल्याइएका भेडा र ऊनबाट नै प्राचीन नेपालको अर्थतन्त्र सबल रहेको कुरा इतिहासमा उल्लेख गरिएको पाइन्छ। नेपाल-तिब्बतसँग सम्बन्धित यस्तै बहुआयामिक बुझाइले मेरो चेतनालाई डोर्‍याए, जुन वेला म सुरक्षा जाँच सकेर टर्मिनलतर्फ लम्किँदै थिएँ। सामान प्याकिङ गर्दा आफूले हतार गरेको र एउटा जिम्मेवार यात्री बन्न नसकेको अनुभूति भइरहेको थियो।

त्यसो त तिब्बतको सुरक्षा मामिलालाई लिएर चीन कति हदसम्म संवेदनशील छ भन्नेबारे थाहा नभएको होइन। चीनबारे स्वआर्जित ज्ञान नहुँदा चीन र तिब्बत सम्बन्धबारे उत्पादित ज्ञानको आधारमा मात्रै हेर्दो रहेछु।

तिब्बतमा चीनले तयार पारेको सैन्य पूर्वाधारबारे पनि नपढेको होइन। चीनले सन् २०१६ मा आफ्नो सैन्य खर्च सात-आठ प्रतिशतले बढाएको थियो। विश्व अर्थतन्त्रमा उल्लेखनीय हस्तक्षेप गर्न सक्ने गरी अफ्रिका, यूरोप र ल्याटिन अमेरिकासम्म बहुराष्ट्रिय कम्पनी मार्फत फैलिए पनि चीनको तिब्बत चासो उस्तै सघन नै छ। तर, यी सबै सैद्धान्तिक ज्ञान न थिए, अनुभवजन्य स्वआर्जित ज्ञानको अभावको कारण मैले नेलकटर पनि तिब्बतमा खतरनाक हुन सक्छ भन्ने कल्पना नै गरिनँ।

चिनियाँ जनमुक्ति सेनाका लागि तिब्बत पुग्ने जुनसुकै देशका मानिसको अस्तित्व बराबर हुँदो रहेछ, तर शायद मलाई नेपाल-तिब्बत सम्बन्धका ऐतिहासिक गाथाले बढी प्रभाव पारेका थिए। औपचारिक सेमिनारमा होस् वा अनौपचारिक डिनरमा चिनियाँहरू सधैं नेपाल र चीन सम्बन्धको साक्षी हिमालय पर्वत शृङ्खला रहेको दोहोर्‍याउँन्। तर, हिमालको उत्तरी फेदमा रहेको तिब्बतमा नेपालको हैसियत त्यति नै रहेछ, जति अमेरिका वा भारतको हुन्छ।

हुन त त्यति वेला नै नेपाल-चीन सम्बन्धमा नयाँ आयामको शुरूआत भएको दाबी काठमाडौंमा गरिंदै थियो। भारतीय नाकाबन्दीबाट थिलथिलो भएको नेपालले सन् २०१६ मा चीनसँग व्यापार र पारवहन सम्झौता गरेको थियो। काठमाडौंका मन्त्रालय र ज्ञानकेन्द्रहरूमा आसन जमाएका परराष्ट्रविद् त्यो सम्झौताको युफोरियामा यसरी रमाइरहेका थिए, उनीहरूले चीन र भारतबीच नेपाल सेतु बनेको परिकल्पना मात्र होइन, तस्वीर कोरिसकेका थिए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले देखाएको चुच्चे रेल केरुङ हुँदै काठमाडौं पुगिसकेको परिकल्पित दृश्यले दङ्गदास काठमाडौंलाई तिब्बतमा एक जना नेपालीले बोकेको नेलकटरले कत्रो त्रास सिर्जना गर्छ भन्ने के अनुमान!

चीन-नेपाल सम्बन्धमा उल्लेखनीय उपलब्धिमाथि रिपोर्टिङ र विश्लेषण भइरहँदा जनस्तरका अनुभव भने राज्यस्तरमा हुने भ्रमण, सम्झौतामा विरलै अटाउने गरेको पाइन्छ। फलस्वरूप जनस्तरमा चिनिने चीन पनि सम्भ्रान्त वर्गकै कथनबाट प्रभावित देखिन्छ। त्योभन्दा बढी बुझे इतिहासदेखिकै समर्थक मित्र वा वामपन्थीले प्रचार गरेको माओको देशका रूपमा मात्रै चीन परिचित छ।

तर, तिब्बत विमानस्थलमा घटेको त्यो सानो घटनाले मलाई ठूलो पाठ सिकायो- यी सबै धारणा र मान्यता व्यवहारमा लागू नहुन सक्छन्। हामीले चीनबारे जे पढेका छौं, सोचेका छौं र ठानेका छौं, यथार्थमा त्यो धेरै फरक छ।

सँगै उठ्ने अर्को प्रश्न हो, के चीनले नेपाल चिनेको छ त? यो प्रश्नबारे घोत्लिँदा अर्को घटना सम्झिन्छु, सन् २०१६ कै। काठमाडौंबाट छेन्दुका लागि ७ अप्रिल बिहानको ११ः३० मा उडेको सिचुवान एअरलाइन्सको जहाजमा भएको घटना हो त्यो। जहाज तिब्बत एअरपोर्टमा सुरक्षा जाँचको काम सकिएपछि छेन्दुका लागि उडेको थियो।

केही बेरमा एअर होस्टेज जहाजभित्र खाना वितरण गर्न ‘मिल ट्रली’ गुडाउँदै आइन्। सिचुवान एअरलाइन्सको युनिफर्ममा सजिएकी एअर होस्टेजले अल्मुनियम फोयलमा बेरिएको खानाको प्याकेट मेरो सिटमा ‘डिस्पोजेबल ट्रे’ मा राखिदिइन्। निकै मिठो बास्ना आइरहेको थियो।

मैले अनुमान लगाएँ, माछा वा कुखुराको मासु हुनुपर्छ। अथवा कुनै प्रख्यात चिनियाँ खाना पनि हुन सक्छ। बेइजिङ स्मोकी डक पो हो कि? या कम्पाओ चिकन? खानाको अनलाइन बूकिङ गरेको-नगरेको मलाई जानकारी थिएन।

चिनियाँ विमानमा नेपाल-चीन यात्रा गर्दा सामान्यतया हिन्दू खानाको व्यवस्था शुरू भएको भने मलाई थाहा थियो। निकै मिठो बास्ना आइरहेकोले त्यो कस्तो खाना होला भनेर कौतूहल पनि बढिरहेको थियो। यस्तै जिज्ञासा मसँगै काठमाडौंबाट उडेका एक जना साथीलाई पनि रहेछ।  

उनले एअर होस्टेजलाई जिज्ञासा गरिहाले, “यो के कुन खाना हो?”

एअर होस्टेजले स्पष्ट सुनिने गरी भनिन्, “बीफ राइस हो, सर।”

त्यो जवाफ हिरोसिमामा खसेको बमभन्दा कम थिएन। एकाएक सन्नाटा छायो। ती साथी अक्कमक्क परे। म पनि केही बोलिनँ।

फेरि उनले तिनै एअर होस्टेजलाई सोधे, “यसको विकल्प अरू केही छैन?”

‘खाए खा, नखाए घिच्’ भने जस्तो गरी एअर होस्टेजले भनिन्, “हामीसँग भएको यो नै अन्तिम खाना हो। अर्थोक त केही छैन।”

त्यो विमान काठमाडौंबाट उडेको थियो। अधिकांश सीट खाली थिए। विमानमा रहेका ९० प्रतिशतभन्दा धेरै यात्रु नेपाली नागरिक थिए। तर, सिचुवान एअरलाइन्सले ‘बीफ राइस’ को प्रबन्ध किन गरेको होला? त्यस जहाजमा त्रिभुवन विश्वविद्यालयका १६ जना नेपाली विद्यार्थी र चीनका केही प्रान्तमा व्यापार शुरू गरेका नेपाली बाहेक एक-दुई जना मात्र चिनियाँ नागरिक देखिन्थे।

ती विद्यार्थीबीच त ‘बीफ राइस’ लाई लिएर छि:छि:-दुरदुर गरेको पाइयो। अन्य नेपालीले पनि विमानमा दिइएको खाना स्वीकार नगरी आफूसँग हातेझोलामा भएको चाउचाउ र बदाम खान थाले। भोकले चूर शाकाहारी त रिसाए।  

लामो समयदेखि नेपालमा एअरलाइन्स सुविधा प्रदान गर्दै आएको सिचुवान एअरलाइन्सलाई अधिकांश नेपाली गाईको मासु खाँदैनन् भन्ने थाहा थिएन त? प्रस्ट थियो, उनीहरूलाई नेपालीको खानपानबारे जानकारी राखिरहनु आवश्यकताबोध नै भएन।

यो घटना चीनले नेपाललाई बुझ्न नसकेको एउटा ज्वलन्त उदाहरण हो। हिमाललाई साक्षी राखेको ऐतिहासिक सम्बन्ध भए पनि हामीले चीनलाई हेर्ने आँखा सीमान्त सम्बन्धहरूले निर्माण गरेका छैनन्। ती बढीजसो पश्चिमा ज्ञान वा चीनले सन् १९६० को दशकमा ‘विदेशी भाषा प्रकाशन गृह’ ले हिन्दी र नेपालीमा अनुवाद गराएर पठाएका प्रचार सामग्रीमा आधारित छन्।

हामी माओ चिन्छौं, माओका जनता चिन्दैनौं। उसैगरी चिनियाँहरूको नेपालप्रति बनाउने धारणा पनि परस्पर सम्बन्धमा आधारित भन्दा पनि राज्य संयन्त्रले प्रकाशन/प्रसारण गर्ने सामग्रीमै आधारित छ। अधिकांश चिनियाँको चासोमा नेपाल छैन। जसले चासो राख्छन् ती सरकारी दस्तावेजमै सीमित छन्।

चिनियाँले हिमाल, काठमाडौं, बुद्ध, स्वयम्भू, लुम्बिनी चिन्छन्, तर मानिस, उनीहरूको धर्म, खानपान, परम्परा र मान्यताबारे अनभिज्ञ छन्। त्यसैले त हरेक पटक चीन पुग्दा चिनियाँले सबै नेपालीलाई बौद्ध धर्मावलम्बी ठानेर व्यवहार गर्ने गरेको अनुभव मसँग छ।

दुई देशबीचको सम्बन्धलाई सुदृढ, सबल र पारदर्शी बनाउने काम जनस्तरको सम्बन्धले गर्छ। जनस्तरको सम्बन्ध बलियो नभए दौत्य सम्बन्ध औपचारिकतामा सीमित हुन्छ। दुई देशको सम्बन्ध सत्ता सम्भ्रान्तहरूको रुचि र स्वार्थबाट निर्देशित हुन्छ। परिणाम, जनस्तरको सम्बन्ध ‘नेलकटर’ र ‘बीफ राइस’ को अन्योलमा अलमलिरहन्छ, जसले केवल शङ्का र अविश्वास सिर्जना गरिरहन्छ।

चीनको चुलिंदो अर्थतन्त्र र नेपालीको बढ्दो महत्त्वाकांक्षाका कारण नेपाल-चीनबीच जनस्तरको गतिविधि भविष्यमा बढ्ने नै छ। तर, एकअर्कालाई भाषा र व्यवहारबाट राम्रोसँग चिन्न नसकेका मानिसहरूको संवाद कति हदसम्म मैत्रीपूर्ण रहिरहला? वा त्यो क्रेता र विक्रेता सम्बन्धमा सीमित रहला?

हिमाल खबरबाट साभार 

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ४ : ३३ बजे