दाङ । दशैँ खर्च जाेगाड गर्न लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलई भेट्न दाङ पुगेका राउटे समुदायका अगुवाले दुई लाख रुपैयाँ दशैँ खर्च उपलब्ध गराउन आग्रह गरेका छन् ।
दशैँमा खसी बलि दिनुपर्ने भएकाले दुई लाख आवश्यक परेकाले खर्च जुटाइदिन भन्दै उनीहरुले मुख्यमन्त्रीसँग आग्रह गरेका हुन् ।
बिहीबार मुख्यमन्त्री कार्यालयमा पुगेका राउटे समुदायका अगुवा लालबहादुर शाहीसहित बिर्खेबहादुर शाही र जीवन शाहीले मुख्यमन्त्री चौधरीसँग भेटेर भने ,‘दशैँ आइसक्यो, हाम्रो जनताले दशैँमा बलि दिनुपर्छ। खसी खानु पर्छ। सरकारले पैसा दिनु पर्यो ।’
‘८६ घर जनता छौँ । हामीले लगेर सबै जनतालाई बाँड्छौँ’उनीहरुले मुख्यमन्त्री चाैधरीसँग भने । अहिले आफूहरू दैलेखमा बसिरहेको र दशैँ खर्चका लागि दाङ आएको समेत बताए।
मुख्यमन्त्री चौधरीले राज्यले राउटे समुदायको दशैँ खर्चका लागि आवश्यक व्यवस्था गर्ने आश्वासन दिए। उनले २/३ दिनभित्र उचित सहयोग गर्ने बताए ।
प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार १२ : ०२ बजे
प्रतिक्रिया