इण्डो–प्यासिफिक सेना प्रमुखहरूको सम्मेलनमा भाग लिन प्रधानसेनापति शर्मा भारत जाँदै

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारतको नयाँदिल्ली जाने भएका छन् । असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने १३ औं संस्करणको इण्डो–प्यासिफिक सेना प्रमुखहरूको सम्मेलनमा सहभागी हुन प्रधानसेनापति शर्मा आइतबार भारत प्रस्थान गर्ने भएका हुन् ।

भारत र अमेरिकाको सेनाहरूको सहआयोजनामा उक्त सम्मेलन हुन लागेको हो । सम्मेलनमा प्रधानसेनापतिसँगै उपरथी योगराज शर्मा,महासेनानी वसन्तबहादुर गौतम र सेनाका सुवेदार रत्नबहादुर थापा मगर सहभागी हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

गत भदौ २३ गतेको मन्त्रिपरिषद् बैठकले प्रधानसेनापति शर्माको भ्रमण स्वीकृत गरेको थियो । उनी असोज ११ गते स्वदेश फर्किने छन् । नेपाली सेनाले उक्त सम्मेलनमा प्रधानसेनापतिको सहभागिताबाट मित्र राष्ट्रका सैन्य संगठनहरूबीच सुमधुर सम्बन्ध कायम हुने विश्वास लिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  ५ : ५१ बजे