सुनको मूल्यमा नयाँ कीर्तिमान

हरदीप सिंहपछि क्यानडामा फेरि अर्का खालिस्तान समर्थक सुखदुल सिंहको हत्या

काठमाडाैँ । खालिस्तान अभियानका समर्थक हरदीप सिंह निज्जरको हत्याको विषयमा भारत र क्यानडाबीच तनाव जारी रहँदै फेरि क्यानडामै अर्का खालिस्तान समर्थक सुखदुल सिंह गिलको पनि हत्या भएको छ ।

सुक्खा दुन्नेके भनेर चिनिने सुखदुल सिंह सन् २०१७ मा नक्कली पासपोर्ट बनाएर क्यानडा पुगेका थिए । भारतीय सञ्चारमाध्यमहरूका अनुसार विन्नीपिग क्षेत्रमा उनीमाथि १५ राउन्ड गोली हानिएको थियो ।

गत १८ जुनमा हरदीप सिंह निज्जरको पनि क्यानडामै गोली हानी हत्या भएको थियो । हरदीप सिंह र हाल मारिएका सुखदुल सिंह भारतको आतंकवादीको सूचीमा थिए । भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी एनआइएको ४१औँ आतंकवादीको सूचीमा सुखदुल सिंह थिए । उनी सन् २०१७ मा नक्कली कागजपत्र बनाएर क्यानडा पुगे, जतिबेला उनीमाथि ७ गम्भीर अपराधको मुद्दा चलिरहेको थियो । लामो समय उनी जेलमा बसेपछि जमानतमा बाहिर आएका थिए, सोहीबेला उनी क्यानडा भागे । विभिन्न अपराधमा संलग्न भएका सुखदुल सिंहले पुलिस क्लियरेन्स सर्टिफिकेट प्रहरीकै मद्दतमा बनाएको बताइएको छ ।

यसअघि हरदीप सिंह निज्जरको हत्या भएसँगै क्यानडाले यस घटनामा भारतको हात भएको प्रमाण आफूहरूसँग भएको आरोप लगाएको छ । क्यानडाले आफ्ना नागरिकको हत्यामा विदेशी सरकार सहभागी हुनुले त्यसले क्यानडाको सार्वभौमसत्तामा चुनौती दिएको बताउँदै भारतलाई यस विषयमा जवाफदेही बनाउने त्यहाँका प्रधानमन्त्री जस्टिन ट्रुडोले बताएका छन् ।

त्यसलगत्तै क्यानडाले भारतको कूटनीतिज्ञलाई देश निकाला गर्दा भारतले पनि क्यानडाको एक कूटनीतिज्ञलाई देश निकाला गरिदिएको छ । क्यानडास्थित सिख समुदायले हरदीप सिंह निज्जरको हत्याको विषयमा यस घटनामा भारतको खुफिया एजेन्सी रअको हात भएको आरोप लगाएका छन् । भारतले क्यानडामा भएको यस्ता हत्याको विषयलाई स्पष्ट रूपमा खण्डन गरेको छ ।

भारतले उल्टै सिख समुदायका दर्जनौँ खालिस्तानी समर्थक जसलाई आतंकवादीको सूचीमा राखिएको उनीहरू क्यानडामा स्वतन्त्र रूपमा त्यहाँको नागरिकका रूपमा हिँडिरहेको बताएको छ । पछिल्लो समय भारतभित्रै र क्यानडा तथा अन्य देशमा खालिस्तान आन्दोलन चर्किएको छ । खालिस्तान आन्दोलन भारतबाट पञ्जाव प्रान्तलाई अलग्याउने अभियानसँग सम्बन्धित छ । हरदीप सिंह निज्जरसँगै हाल मारिएका सुखदिल सिंह पनि खालिस्तान अभियानका सदस्य थिए, जसले क्यानडामा अभियान चलाइरहन्थे ।

खालिस्तान अभियानका नेता अमृतपाल सिंहलाई गत अप्रिल महिनामा मात्र प्रहरीले पञ्जावको मोगा जिल्लाबाट गिरफ्तार गरेको थियो । पञ्जावलाई भारतबाट अलग्याउनुपर्छ भन्ने उनको भनाइ थियो । वास्तवमा खालिस्तानको अर्थ खाल्साको भूमि हो । खाल्सा भनेका सिख हुन् । अर्थात्, खालिस्तान अभियानमा लागेकाहरूले पञ्जावलाई सिखहरूको देश बनाउन चाहन्छन् ।

सन् १९४० मा सबैभन्दा पहिला खालिस्तान शब्दको प्रयोग भएको मानिन्छ । तर, यसअघि सन् १९२९ मै शिरोमणि अकाली दलका तारा सिंहले सिखका लागि छुट्टै देश बनाउन माग गरेका थिए । अर्थात्, खालिस्तानको कथा ३१ डिसेम्बर १९२९ देखि नै सुरु भएको बताइन्छ ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  १२ : ५१ बजे