‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

शिक्षकको दोस्रो दिनको आन्दोलन सुरू : माइतीघरदेखि बानेश्वर क्षेत्र अस्तव्यस्त

काठमाडौं । शिक्षकहरूको दोस्रो दिनको आन्दोलन सुरू भएको छ।   नेपाल शिक्षक महासंघको नेतृत्वमा बुधबारदेखि आन्दोलिन सुरू भएको हो। आज पनि शिक्षकहरूले माइतीघरदेखि बानेश्वरसम्म विरोध र्‍याली निकालेका छन्। 

माइतीघर मण्डलामा भेला भएका शिक्षक र कर्मचारीको आन्दोलनका कारण काठमाडौंको मुख्य क्षेत्रको सवारी आवागमन प्रभावित भएको छ । सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका कतिपय प्रावधानप्रति असन्तुष्टि जनाउँदै देशभरका शिक्षक आन्दोलित बनेका हुन्।

आन्दोलनमा उत्रिएका नेपाल शिक्षक महासंघ र उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता भएपनि निष्कर्षविहीन बनेको छ। वार्तामा सरकारका तर्फबाट उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठ,शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, शिक्षा सचिव सुरेश अधिकारी छन्। यस्तै आन्दोलनरत शिक्षकहरुका तर्फबाट शिक्षक महासंघ,नेपाल शिक्षक संघ र नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रतिनिधिहरू सहभागी थिए।

शिक्षक नेताहरूले देशभरका सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीका माग पूरा नभएपछि काममा नफर्किने अडान लिएका छन्।

हाल मुलुकभर २७ हजार तीन सय ४३ सामुदायिक विद्यालय छन् भने स्थायी राहत गरी एक लाख ५७ हजार तीन सय ४३ शिक्षक कार्यरत छन् । यस्तै सामुदायिक विद्यालयमा कक्षा १२ सम्म ५३ लाख ८२ हजार छ विद्यार्थी छन् ।

महासंघले अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सृजना, विद्यालय संरचनाबाहिर रहेका बाल कक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कनलगायतका विषयमा सम्बोधन माग गर्दै आएको छ ।

यससँगै सम्पत्ति विवरण पेस गर्नुपर्ने, जिम्मेवारीपूर्वक अध्यापन कार्य नगरेमा वा कुनै पनि खालका नियम तथा आचारसंहिता भंग गरेमा शिक्षकलाई बढीमा पाँच वर्ष तलब वृद्धि रोक्का गर्ने वा पाँच वर्षसम्म बढुवा रोक्का हुने प्रावधान संशोधन गर्नुपर्ने महासंघले अडान राखेको छ।

सरकार र महासंबीच २०७५ फागुन ९ गते र २०७८ फागुन ९ गते भएका सम्झौताहरुलाई विधेयकले यथोचित सम्बोधन नगरेको महासंघको गुनासो छ । नेपाल सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता गरेको थियो ।

 

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  १२ : ४१ बजे