सुनको मूल्यमा नयाँ कीर्तिमान

क्यानडामा भएकाे शिख नेताको हत्यामा भारतीय सरकारको हात !

काठमाडौं । क्यानडा सरकारले ब्रिटिस कोलम्बिया राज्यमा १ जना शिख नेताको हत्यामा भारतीय सरकारको हात रहेको बताएको छ। गत जुन महिनाको १८ तारिख क्यानडाको ब्रिटिस कोलम्बियाको सरेस्थित गुरुद्वारा अगाडि हरदीप सिंह निज्जरको गोली हानी हत्या गरिएको थियो। 

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले संसद्को‌ तल्लो सदन हाउस अफ कमन्समा एक बयान दिँदै निज्जरको हत्यामा भारतीय सरकारका जासुसहरु संलग्न रहेको विषयमा छानबिन भइरहेको बताए। ट्रुडोले भने, ‘क्यानाडाली सुरक्षा एजेन्सीहरूले क्यानाडाली भूमिमा क्यानाडाली नागरिक हरदीप सिंह निज्जरको हत्यामा भारतीय सरकारका जासुसहरू संलग्न रहेको ठोस आरोपको छानबिन गरिरहेका छन्। क्यानाडाली नागरिकको हत्यामा विदेशी सरकारको भूमिका हाम्रो सार्वभौमसत्ताको उल्लङ्घन हो, जुन स्वीकार गर्न सकिँदैन।’

भारत सरकारले निज्जरलाई आतंकवादी भन्दै आएको थियो र उनलाई आतंकवादी पृथकतावादी संगठनको नेताको रूपमा वर्णन गरेको छ। तर, निज्जरका समर्थकहरूले यसलाई पूर्ण रूपमा अस्वीकार गर्छन्। 

निज्जरको हत्यालाई लिएर ट्रुडोले भारत सरकारमाथि लगाएको गम्भीर आरोपले राजनीतिक क्षेत्रमा धेरै हलचल मच्चाएको छ। भारत र क्यानडाबीचको पहिलेदेखिकै तनावपूर्ण सम्बन्धलाई यो प्रकरणले थप बिग्रने अवसर सिर्जना गरेको छ। 

ट्रुडोले आफ्ना निकटतम् सहयोगीहरुलाई पनि यस घटनाक्रमबारे जानकारी गराएको बताएका छन्। जसमा बेलायतका प्रधानमन्त्री ऋषि सुनाक, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र अमेरिकी राष्ट्रपति जो बाइडेन रहेका छन्।

क्यानडाकी विदेशमन्त्री मेलानी जोलीले यी आरोपमा कारबाही गर्दै भारतका वरिष्ठ कूटनीतिक अधिकारी पवनकुमार रायलाई देश निकाला गरेकी छन्। राय क्यानडामा भारतीय जासुसी एजेन्सी रिसर्च एण्ड एनालिसिस विंग ९रअ०का प्रमुख थिए। जोलीले आरोपहरूको ‘समस्याग्रस्त र पूर्ण रूपमा अस्वीकार्य’ गम्भीरतालाई ध्यानमा राखेर कारबाही गरिएको बताएकी छन्।

देशका सार्वजनिक सुरक्षा मन्त्री डोमिनिक लेब्लान्कले रोयल क्यानाडियन माउन्टेड पुलिस ९आरसीएमपी० ले हत्या प्रकरणको अनुसन्धान गरिरहेको र जिम्मेवार व्यक्तिहरूलाई कारबाही गरिने बताए। क्यानडा प्रहरीको एकीकृत हत्या अनुसन्धान टोली (एचआईटी) ले निज्जरको हत्याबारे अनुसन्धान गरिरहेको छ।

क्यानडाको विश्व सिख संगठनले ट्रुडोको आरोपको समर्थन गर्दै निज्जरले आफ्नो ज्यानमाथि खतरा भएको बारेमा भारतीय एजेन्सीहरूलाई जानकारी दिएको बताएको छ। संगठनले केही अन्य क्यानाडाली सिख नेताहरू भारतीय जासूस एजेन्सीहरूको कथित हिट लिस्टमा रहेको बताएको छ।

ट्रुडोको आरोप भारत र क्यानडाबीचको सम्बन्ध तनावपूर्ण रहेको बेला आएको हो। हालै दिल्लीमा भएको जी–२० सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र जस्टिन ट्रुडोबीचको भेट पनि यस्तै तनावपूर्ण वातावरणमा भएको थियो। त्यसबेला भारतले एक विज्ञप्ति जारी गरी क्यानडामा ‘भारत विरोधी गतिविधिहरू’बारे ‘धेरै चिन्तित’ रहेका बताएको थियो।

त्यसपछि क्यानाडाली प्रतिनिधिमण्डलसँग स्वदेश फर्किनुको सट्टा राष्ट्रिय सुरक्षा सल्लाहकार जोडी थोमस सिधै लण्डन पुगे। सरकारी स्रोतका अनुसार थोमसले घटनाबारे बेलायत सरकारलाई जानकारी गराएका थिए।

२ दिनअघि क्यानडा र भारतले अक्टोबरमा हुने व्यापार वार्ता स्थगित गरेका थिए। यी वार्ताका लागि क्यानडाका अन्तर्राष्ट्रिय व्यापारमन्त्री मेरी निगको नेतृत्वमा रहेको टोली ५ दिने भारत भ्रमणमा जाने भनिएको थियो। गत हप्ता मात्रै क्यानडाले उक्त यात्रा स्थगित गरेको खबर सार्वजनिक भयो। उक्त टोलीको भारत यात्रा स्थगित हुनुको कुनै कारण भने दिइएको छैन।

उता अमेरिकाले पनि यो घटनाप्रति चिन्ता व्यक्त गरेको छ। ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्की प्रवक्ता एड्रियन वाट्सनले एक विज्ञप्ति जारी गर्दै भनिन्, ‘हामी प्रधानमन्त्री ट्रुडोले लगाएको आरोपप्रति धेरै चिन्तित छौं। हामी हाम्रा क्यानाडाली साझेदारहरूसँग निरन्तर सम्पर्कमा छौं। यो आवश्यक छ कि क्यानाडाले यस मामिलाको छानबिन गरोस् र दोषीहरूलाई सजाय मिलोस्।’

अस्ट्रेलियाले पनि यस विषयमा टिप्पणी गरेको छ। अस्ट्रेलियाको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त घटनाप्रति चिन्ता व्यक्त गरिएको छ। स्थानीय समाचार च्यानल एसबीएसलाई पठाइएको एक विज्ञप्तिमा विदेश मन्त्री पेनी वोङले अस्ट्रेलिया उक्त घटनाप्रति अत्यन्तै चिन्तित रहेको बताएका छन्। उनले भने, ‘प्रत्येक देशले अन्य देशको सार्वभौमसत्ता, कानुन र व्यवस्थाको सम्मान गर्नुपर्छ भन्ने अस्ट्रेलिया विश्वास गर्छ। हामी यस विषयमा नजिकबाट नजर राखिरहेका छौं। हामीले भारतीय अधिकारीहरूलाई पनि आफ्नो चिन्ता व्यक्त गरेका छौं। हामीलाई थाहा छ अस्ट्रेलियाका केही समुदायहरू यी समाचारहरूबाट विचलित हुनेछन्। भारतीय समुदाय हाम्रो समाजको एक महत्त्वपूर्ण भाग हो र बहुसांस्कृतिक समाजमा यसको धेरै योगदान छ।’ –एजेन्सीहरुको सहयोगमा

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  ९ : ५२ बजे