दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

रुपन्देहीमा दुई मजदुर समूहबीच झडप, एक जनाको मृत्यु

रुपन्देही । सोमबार राती रुपन्देहीको तिलोत्तमामा दुई मजदुर समूहबीच विवादपछि भएको  झडपमा एकजनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।मदिरा सेवन गरी मजदुरहरू धारिलो हतियारसहित आपसी झडपमा उत्रिएका थिए ।

तिलोत्तमा नगरपालिका वडा नम्बर ९ केरवानीमा मजदूरी काम गर्दै आएका दुई पक्षबीच सोमबार राति झडप भएको हो । झडपका क्रममा हेटौडा घर भई रुपन्देहीको मंगलापुरमा बस्दै आएका सुरेश साङताङको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो । साङताङको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।

 झडपका क्रममा घाइते हुनेहरूमा काठमाडौँ महानगरपालिका–१ बस्ने विकास वाइबा, मकवानपुरका राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ रहेको प्रहरीले जनाएको छ । घाइते तीनै जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

झडपमा संलग्न रहेको आशङ्कामा १३ जना मजदुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी नायब उपरीक्षक थापाले घटनाको अनुसन्धान भइरहेको बताएका छन् । स्थानीयले  मकवानपुरे र नुवाकोटे समूहका नाममा झडप भएको बताए पनि प्रहरीले भने यसबारेमा केही उल्लेख गरेको छैन ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  ९ : ३१ बजे