ट्याङ्करको ठक्करबाट अनेरास्ववियुका नेताको मृत्यु भएपछि विभिन्न जिल्लामा टायर बालेर प्रदर्शन

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकस्थित चौतारा साँगाचोकगढी नगरपालिका-९ घुमाउने डाँडामा ट्याङ्करको ठक्करबाट अनेरास्ववियु सिन्धुपाल्चोकका दुई नेताको मृत्यु भएपछि अनेरास्ववियुले विभिन्न ठाउँहरूमा विरोध प्रदर्शन गरेको छ ।

अनेरास्ववियु सिन्धुपाल्चोकका सह-संयोजक २७ वर्षीय नवीन पाण्डे र जिल्ला कमिटी सदस्य २७ वर्षीय समीर दोङको धुलिखेल अस्पतालमा निधन भएपछि अनेरास्ववियुले विभिन्न जिल्लाहरूमा ‘टायर’ बालेर विरोध प्रदर्शन गरेको हो । 

उचित क्षतिपूर्ति र सवारी चालकलाई हदैसम्मको कारबाहीको माग राख्दै अनेरास्ववियुले सिन्धुपाल्चोक,चितवन,काभ्रेलगायत जिल्लाहरूमा विरोध प्रदर्शन गरेको हो । 

ट्याङ्करको लापरबाहीका कारण मृत्यु भएको भन्दै अनेरास्ववियुले नारायणी यातायात प्रा.लि.का गाडीहरूलाई देशैभर रोक्ने चेतावनी दिएको छ । नारायणी यातायात प्रा.लि.का सञ्चालकलाई बारबार सम्पर्क गर्दा पनि सम्पर्कमा आउन नचाहेको र प्रहरीले पनि बेवास्ता गरेको अनेरास्ववियुको आरोप छ । 

पाण्डे र दोङको दुर्घटना नभई हत्या गरेको उनीहरूको आरोप छ । सञ्चालक वार्तामा नआए चरणबद्ध रुपमा आन्दोलनको घोषणा गरिने अनेरास्ववियुका केन्द्रीय सचिव सञ्जीव धितालले जानकारी दिए । 

उनीहरू सवार बा.प्र.०२-०३१ प ५९७६ नम्बरको मोटरसाइकललाई खाडीचौरबाट बन्देऊ जाँदै गरेको ना ८ ख ३७६ नम्बरको ट्याङ्करले ठक्कर दिएको थियो।

विपरीत दिशाबाट आइरहेको उक्त मोटरसाइकललाई ठक्कर दिएपछि दुवैजना गम्भीर घाइते भएका थिए। 

उक्त मोटरसाइकल सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका-१ बाँसखर्क घर भएका २७ वर्षीय समीर दोङले चलाइरहेका थिए।

उनको पछाडि मेलम्ची नगरपालिका-११ जरायोटार पाण्डेगाँउ बस्ने २७ वर्षीय नवीन पाण्डे सवार थिए।   

 

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ६ : १० बजे