दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

तीनकुने हत्या काण्डमा जडिबुटी क्षेत्रबाट थप चार जना पक्राउ

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको सामूहिक हत्या प्रकरणमा प्रहरीले थप चार जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरूको परिचय खुलाएको छैन ।

शुक्रबार मध्यरातमा सःमिलका सुरक्षागार्ड दोलखाका ५५ वर्षीय कुमार भुजेलसहित उनकी श्रीमती ५२ वर्षीय अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलबारीका २० वर्षीय नवीन राईको हत्या भएको थियो।

नवीनलाई भाइ बताउने २८ वर्षीय विपेन राईलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार उनी आफै ट्याक्सी चढेर तीनकुनेस्थित प्रहरी कार्यालय पुगेका थिए।

खबरपश्चात तत्काल सःमिल पुगेको प्रहरीले चार जनाको विभत्स हत्या भएको अवस्थामा शव फेला पारेको थियो।

मृतकको टाउको,घाँटी लगायत शरीरका विभिन्न भागहरूमा धारिलो हतियार प्रहार भएको देखिएको छ।

हत्यामा प्रयोग भएको हतियार प्रहरीले खोजिरहेको छ।

प्रहरी कार्यालयमा विपेनको सोधपुछ जारी रहँदा अपराध महाशाखाको टोली पनि घटनास्थल पुगेको थियो। त्यसपछि तालिमप्राप्त कुकुर परिचालन गरिएको थियो। कुकुर जडिबुटीसम्म पुगेको थियो।

सोही आधारमा प्रहरीले थप चार जनालाई जडिबुटी क्षेत्रबाट नियन्त्रणमा लिइ सोधपुछ गरिरहेको स्रोतले बतायो।

आफैं प्रहरी कार्यालय पुगेका विपेनको घटनामा संलग्नता छ कि छैन भन्ने कोणबाट पनि अनुसन्धान सुरू भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेश मैनालीले जानकारी दिए।

एसएसपी मैनालीका अनुसार सस्मिलमा हत्या भएका नवीनलाई उनी भाइ भन्थे। आफ्ना बाबु पहिले सोही सःमिलमा काम गर्ने भएकाले नवीन बेलबेला त्यहाँ गइरहन्थे।

आउजाउ भइरहने भएकाले कुमार भुजेलको परिवारसँग नवीनको सम्बन्ध राम्रै थियो। प्रहरीले नवीनको पृष्ठभूमीबारे पनि अनुसन्धान थालेको छ।

घटनास्थलको मुचुल्का उठाएर शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  १२ : १५ बजे