‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

पौने दुई अर्ब खर्चेर क्यानले बनायो सिनामंगलमा ‘आलिसान महल’

​​​​​​​काठमाडौं । तिनकुनेबाट एयरपोर्टतर्फ जाँदै गर्दा सिनामंगल चोक कट्ने वित्तिकै देब्रेतर्फ भिरालो ठाउँमा अनौठो खालको भवन देखिन्छ । सिसैसिसाले सजिएको भव्य भवन देख्ने वित्तिकै तपाइँलाई लाग्न सक्छ– ‘एयरपोर्ट नजिकै तारे होटल बन्दै रहेछ ।’

बिल्कुल भिन्न डिजाइनमा तयार भएको भवनले जो कोहीको ध्यान खिच्न सक्छ । त्यो बाटो हुँदै यात्रा गर्नेहरुले एक पटक भवनतर्फ नजर लगाएकै हुन्छन् । आठ वर्षअघि निर्माण सुरु भएर स्ट्रक्चरले आकार लिएदेखि नै यो भवनले कौतुहलता जगाइरहेको छ । किनभने, भवनको बाहिरी डिजाइन नै आकर्षक र फरक छ । 

यो कुनै तारे होटल होइन । न कुनै ठूलो घरानाको कर्पोरेट अफिस नै हो । बैंकले बनाएको मुख्यालय (हेडअफिस) त हुँदै होइन । यो उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को मुख्यालय हो ।

क्यानले करिव दुई अर्ब रुपैयाँ खर्चिएर बनाएको मुख्यालयकाे (शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले  उद्घाटन गरे । 

एनोट आर्किटेक्चर एण्ड आर्किटेक्टले डिजाइन गरेको ११ तलाको यो भवन बाहिरबाट जति आकर्षक देखिन्छ, भवनभित्रको इन्टेरियर र त्यहाँ उपलब्ध सुविधाहरु कुनै भव्य तारे होटेलको भन्दा कम छैन । 

भवनलाई अपांगमैत्री बनाइएको छ । भवनसम्म पुग्न पनि ह्वीलचेयरमा आउजाउ गर्न मिल्ने गरी अतिरक्त बाटो बनाइएको छ । यतिसम्म कि, ट्वाइलेट पनि अपांगमैत्री छन् । 

क्यानका विभिन्न निकायहरुलाई एकीकृत गर्न पनि ठूलो अफिस निर्माण गरिएको हो । क्यानका एरोड्रम, इञ्जिनियरिङ विभाग लगायत नयाँ भवनमा सरिसकेका छन् ।

यो भवन ०७२ सालदेखि निर्माण सुरु गरिएको थियो, तर भूकम्प, नाकाबन्दी, कोभिड महामारीलगायत विविध कारणले समयमै निर्माण हुन सकेन । भवन निर्माणको जिम्मेवारी तुण्डी रसुवा जेभीले निर्माण गरेको हो । 

चार रोपनी दुई आना क्षेत्रफलमा निर्माण गरिएको नयाँ भवनमा पाँच सयभन्दा बढी कर्मचारीले काम गर्न सक्ने क्यानले जनाएको छ । भवनमा सहज आउजाउका लागि चारवटा लिफ्ट जडान गरिएको छ ।

भवन परिसरमा झन्डै सयवटा गाडी र डेढ सयभन्दा बढी मोटरसाइकल पार्किङ गर्न मिल्छ ।

भवनमा पुग्नुअघि पानीका फोहोरा (वाटर फाउन्टेन)ले स्वागत गर्छ । भवनको मुल प्रवेशद्धारमा मान्छे पुग्ने वित्तिकै आफै खुल्ने र बन्द हुने सेन्सर जडित सिसाको ढोका छ । भवनलाई भव्य र बिलासी बनाउन डिजाइनमा कुनै कसर बाँकी राखिएको छैन ।

हरेक तलामा सिसाको पार्टेसन छ । सातौं तलामा रहेको महानिर्देशकको कार्यकक्ष छ । सातौं तलामा सञ्चालक समितिको कार्यकक्ष र दुईवटा मिटिङ हल पनि छ ।

यस्तै, भवनमा पत्रकार सम्मेलनलगायत विभिन्न प्रयोजनका लागि करिव दुई सय जना अटाउने हल पनि छ । महानिर्देशकले भिभिआइपीहरुसँग मिटिङ गर्न छुट्टै ठाउँ बनाइएको छ ।

​​​​​​​

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ११ : ३० बजे