साफ यू–१७ च्याम्पियनसिप आजदेखि

धार्मिक संस्थाले विरोध गरेपछि नाटक ‘ह राम पण्डित’को नाम ‘ह बिन्दु राम पण्डित’

काठमाडौं । हिन्दु धार्मिक संघसंस्थाको विरोधपछि नाटक ‘ह राम पण्डित’को नाम परिवर्तन गरिएको छ । नाटकको शीर्षकले साम्प्रदायिक विद्वेष फैलाएको भन्दै हिन्दु जागरण पार्टी र शिव सेना नेपाल विरोधमा उत्रिएका थिए ।

अब यो नाटकको नाम ‘ह बिन्दु राम पण्डित’ राखिएको छ । ती धार्मिक संस्थाको विरोधपछि बिहीबार नाटकको शो प्रभावित भयो । नाम परिवर्तन गरिएपछि शुक्रबार बेलुकादेखि नियमित मञ्चन गरिने शिल्पी थिएटर र निर्माण संस्था दैलो प्रोडक्सनले जनाएको छ ।

भैरव अर्यालको कृतिमा आधारित भनिएको यो नाटकको निर्देशक बारत लिम्बू हुन् । उनले नाटकलाई लिएर भएको विवादमा प्रतिक्रिया दिन चाहेनन् । तर सामाजिक सद्भाव कायम राख्न आफूहरुले नाटकको नाम परिवर्तन गरिएको दैलो प्रोडक्सनका म्यानेजर अनुराग ढकालले बताए ।

‘शीर्षकबाहेक अरु केही पनि परिवर्तन भएको छैन । हिजो केहीबेर डिस्टर्ब भयो,’ ढकालले भने, ‘अब नियमित नाटक मञ्चन हुनेछ ।’ शिल्पी थिएटरले पनि सामाजिक सञ्जालमार्फत नाटकको नाम परिवर्तन भएको र अब नियमित मञ्चन हुने जनाएको छ । शिल्पीका अनुसार यो नाटक भदौ २७ देखि असोज १३ गतेसम्म नियमित मञ्चन हुनेछ ।

हिन्दु धार्मिक संस्थाको विरोधपछि गत साता झरना थापा निर्देशित फिल्मको नाम परिवर्तन गरेर ‘एक भगवत् र एक गीता (सामाजिक कथा) राखिएको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ५ : २४ बजे