ऐतिहासिक संविधान सभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको मङ्गलवार बिहान निधन भएपछि यत्तिखेर देश नै शोकमा छ ।
व्यक्तिगत तथा दलीय अडान र आरोप प्रत्यारोपले ग्रस्त हाम्रो राजनीतिमा आफूलाई अलगरुपमा उभ्याउन सफल तटस्थ, निष्पक्ष निष्ठा, इमानदारीका पर्याय बन्न सक्षम एक कुशल राजनीतिज्ञ नेम्वाङको मृत्युमा देशनै शोकमा डुब्नु स्वाभाविक हो ।
नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । बिहीबार नै नेम्वाङको राजकीय सम्मानका साथ अन्त्यष्टी पनि गरिदैँछ ।
पार्टीको आन्तरिक शक्ति सङ्घर्ष होस् वा पार्टीहरूबिचको स्वार्थ सङ्घर्ष, नेम्वाङ जुनसुकै बेलामा पनि समन्वयकारी भूमिकामा रहनुभयो । नेम्वाङ संयमित ढङ्गले प्रतिकुलताहरूलाई अनुकूलतामा बदल्ने नेता हुनुहुन्थ्यो । राष्ट्रिय राजनीतिमा खास गरी जनताका निर्वाचित प्रतिनिधिहरूबाट संविधान निर्माण गर्ने क्रममा जुन ऐतिहासिक भूमिका उहाँले खेल्नुभयो त्यो स्मरणीय छ । हामी यसलाई कहिल्यै भुल्न सक्दैनौँ । उहाँको भूमिका हेर्दा प्रतिकुलताहरूमा, अप्ठ्यारो क्षणहरूमा उहाँ जहिल्यै पनि सन्तुलनकारी भएर प्रस्तुत हुनुभयो । समस्यालाई सुल्झाउने दृष्टिकोण जहिल्यै पनि राख्ने, समस्या परेको बेलामा बल्झाउने होइन सुल्झाउने हिसाबले प्रस्तुत हुने उहाँको चरित्र थियो । सहमतिको मियोको रूपमा प्रस्तुत गरेर खास गरी तमाम खालका द्वन्द्व र विमतिहरूलाई पनि सहमतिका साथ निचोड र निष्कर्षमा पु¥याउने काममा उहाँले सधैँ भूमिका खेल्नुभयो । त्यसैले नेम्वाङबाट संसदीय राजनीतिको सम्बन्धमा नयाँ सांसदहरूले सिक्नुपर्ने कुराहरू धेरै छन् ।
आफ्नो समन्वयकारी छविकै कारण नेम्वाङले दुई– दुई पटक गठित संविधान सभाको अध्यक्ष बन्ने मौका पाउनुभएको थियो । नेम्वाङले आफूले पाएको उक्त ऐतिहासिक अवसरलाई कुशलतापूर्वक कार्यान्वयन गर्नुभयो । नेम्वाङको त्यही भूमिकाले आज उहाँ सबैको आँखाको नानी मात्र बन्नु भएन प्रेरणाको स्रोत समेत बन्न पुग्नुभएको छ ।
वृहत् शान्ति सम्झौता र अन्तरिम संविधानअनुसार तत्कालीन विद्रोही माओवादी सम्मिलित व्यवस्थापिका संसद्को नेतृत्व गर्नु कम चानचुने विषय थिएन । संसद् नमान्ने माओवादी र त्यसको नाम छोड्न नसक्ने कांग्रेसबीच समझदारी बनाएर व्यवस्थापिका संसद् सञ्चालन गर्नु पक्कै पनि असामान्य काम थियो । तर सहमति र सहकार्यका पर्याय ः बन्नुभएका नेम्वाङको कुशलताको कारण दिशाविहीन मुलुकले बाटो समात्न सफल बन्यो । नेम्वाङको सहनशीलताका अगाडि दुवै किसिमका अतिवादहरु परास्त भए ।
हो,संसद्लाई विवाद होइन, संवादको थलो बनाउनु पर्छ भन्ने मान्यतामा नेम्वाङ कहिल्यै विचलित हुनुभएन । जनताका आवाज अवरुद्ध हुन नदिन सभामुखको हैसियतमा रहेर उहाँले खेलेको तटस्थ र निष्पक्ष भूमिकाकै कारण आज मुलुकले लोकतान्त्रिक गणतन्त्रात्मक संविधान पाउन सकेको हो ।
दलीय राजनीति भएको मुलुकमा एउटा पार्टीको नेता भएर सबै दलका नेता र समर्थक तथा आमजनताको पनि प्रिय हुन सक्नु भनेको दुर्लभ हो । हो, त्यही बिरलाकोटी नेताको रूपमा स्थापित बन्ने सक्नु सुवासको सुवास हो ।
मानिसको जीवनमा कमी कमजोरीहरू अवश्य हुन्छन् । नेम्वाङका पनि अवश्यै केही कमजोरी र सीमाहरू थिए होलान् । तर, उहाँले जुन प्रकारको जीवन बाच्नुभयो, त्यसले उहाँका कमजोरीहरूलाई आज ‘चन्द्रमाको दाग’ जस्तो बनाइदिएको छ । दलहरूबिच अनेक मतभेद हुँदाहुँदै सबैलाई मिलाएर सहमति जुटाउन अध्यक्षका हैसियतमा नेम्बाङले मियोको भूमिका नखेलेको भए सायद आजसम्म पनि नेपालमा संविधान जारी हुन कठिन थियो । मुलुकले नेम्वाङपछि पनि सभामुख पाएको छ तर पछिल्ला सभामुखहरूको भूमिकाप्रति धेरै टिक्का टिप्पणीहरु उठ्ने गरेका छन्, उठ्दैछन् । सभामुखका हैसियतमा निर्वाह गर्नुपर्ने तटस्थ र निष्पक्ष भूमिकामा नेम्वाङले भने कसैलाई औँला ठड्याउने मौकासमेत नदिनु उहाँको विलक्षण प्रतिभा हो, निष्ठा हो,इमान्दारीताको पराकाष्ठा हो ।
आफ्नो हार र जितभन्दा पनि मुलुक र जनताको हितका लागि विधिको वकालत गर्दै आउनुभएका नेम्वाङ सधैँ सहमतिका पक्षपाती नेता हुनुहुन्थ्यो । नागरिकमा देखिएको असन्तुष्टि सम्बोधन गर्न दलहरू जिम्मेवार हुनुपर्नेमा उहाँले सधैँ जोड दिनुभयो ।
आज अनेक कारणले संसद् अवरुद्ध हुने गरेको छ । तर जस्तासुकै राजनीतिक विवादलाई पनि संवादबाट सल्टाउने प्रयास गर्नु र प्रधानमन्त्रीदेखि विद्रोही नेतालाई संसद् भवनकै चोटा कोठामा वार्ता गराएर समस्याको समाधान गराउन सक्ने खुबी नेम्वाङमै थियो । पार्टीदेखि विपक्षीहरूलाई मिलाएर उहाँले निरन्तरको प्रयासकै कारण उहाँको व्यक्तित्व विपक्षीका आँखामा पनि नबिझाउने भएको हो । हो, उहाँको यो भूमिकाको सिको हाम्रा अन्य राजनीतिकर्मीले गर्नैपछ ।
इलामको सुन्तलाबारीमा २००९ साल फागुन २८ गते जन्मिनुभएका नेकपा एमालेका उपाध्यक्ष, सांसद एवं संविधानसभा अध्यक्ष बन्नुभयो ।
नेम्वाङ २०४८ सालमा राष्ट्रियसभा सदस्य भएर संसदीय अभ्यासमा प्रवेश गर्नुभएको थियो । ०५६ सालमा इलामबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएका नेम्वाङ त्यसयताका कुनै पनि निर्वाचनमा पराजित हुनुभएन ।
नेम्वाङ २०५६ सालमा कानुन मन्त्री हुनुभएको थियो । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति समेत हुनु भएको थियो । ०७४ र ०७९ को निर्वाचित भएपछि नेम्वाङले एमाले संसदीय दलको उपनेताको जिम्मेवारी पाउनुभएको थियो ।
विद्यार्थी कालमा ०२९ सालमा महेन्द्ररत्न बहुमुखी क्याम्पसमा स्ववियु सभापति बन्नुभएका उहाँ २०३३ सालमा राजकाज मुद्दामा जेल बस्नुभएको थियो । उहाँका संविधान र कानुन सम्बन्धी पुस्तकहरू पनि प्रकाशित छन् ।
तीसको दशकभन्दा अघिदेखि नै राजनीतिमा सक्रिय भएर पनि पढाइलाई समेत निरन्तरता दिएकैले उहाँ कानुनका प्रखर ज्ञाता बन्नुभएको थियो । पञ्चायत विरोधी आन्दोलनका क्रममा जेल जीवन बिताउनु, आफूले अँगालेको कानुन व्यवसाय पेसामार्फत बहुदलका पक्षमा माहोल बनाउन नेतृत्व गर्नु लगायत उहाँका योगदान धैरै छन् । २०४८ सालमै राष्ट्रियसभा सदस्य भएपछि २०५१ पश्चात् कानुन तथा न्याय मन्त्री बनेर उहाँले मुलुकमा पहिलो पटक मनमोहन अधिकारी नेतृत्वमा बनेको कम्युनिस्ट सरकारलाई विधिको शासन र लोकतान्त्रिक पद्धतिमा हिँडाउन गतिलो सदस्यको भूमिका खेल्नुभएको थियो ।
नेम्वाङले आफ्नो ७१ वर्षको जीवनमा स्वाभिमानयुक्त जीवन बाँच्नुभयो । नेम्वाङको निधनसँगै देशले एक समन्वयकारी नेता, संसद्ले एक होनहार सदस्य, एमालेले आफ्नो अभिभावक र न्याय क्षेत्रले एक अशल र कुशल कानुनविद्लाई गुमाएको छ । नेम्वाङ संवैधानिक सर्वोच्चताको पक्षमा जहिल्यै उभिनुहुन्थ्यो । उहाँले संसदीय व्यवस्थाको पक्षमा निरन्तर वकालत गर्नुभयो । नेम्वाङ नेकपा एमालेका मात्र नेता हुनुभएन, देशकै नेता हुनुभयो । देशले एउटा असल नेता गुमाएको छ । मृदुभाषी, शालीन र सौम्य शैलीमा आफ्ना विचार प्रकट गर्ने र सदाबहार हंशमुख चेहेरामा देखिने नेम्बाङले व्यवहारतः प्रकट गरेको असल राजनीतिक संस्कार र कुशल नेतृत्वको अभाव नेपाली राजनीतिमा अब सधैँ खट्किरहनेछ । नेपाली राजनीतिमा उहाँले छर्केर गएको निष्ठा, इमानदारी र सुसंस्कारको सुवास अमिट रहनेछ । सुवाससँगै नेम्वाङले चम्काएको सहमतिको ज्योति नेपाली राजनीतिमा युग युगसम्म पनि चम्किरहनेछ । शालीनताका प्रतिमूर्ति, निष्ठा र इमान्दारीताका पर्याय सुवासचन्द्र नेम्वाङलाई हार्दिक श्रद्धाञ्जली।
प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार ६ : ५६ बजे
प्रतिक्रिया