सुनको मूल्यमा नयाँ कीर्तिमान

आज रिजर्भ डेमा पाकिस्तान र भारतबीचको खेल हुँदै

एजेन्सी । एसिया कपको सुपर–४ चरणमा आइतबार भारत र पाकिस्तानबीचको खेल वर्षा र भिजेको मैदानका कारण पूरा हुन सकेन । अब खेल आज (रिजर्भ डे) कोलम्बोको आर प्रेमदासा स्टेडियममा दिउँसो सवा ३ बजेदेखि हुनेछ ।

खेल रोकिएको ठाउँबाट फेरि सुरु हुनेछ । खेल रोकिँदासम्म भारतले २४.१ ओभरमा दुई विकेट गुमाएर १४७ रन बनाएको थियो । यहीँबाट खेल सुचारु हुनेछ ।

भारतीय इनिङ्सको समयमा साँझ ५ बजेर ७ मिनेट जाँदा भारी वर्षा सुरु भएको थियो । करिब डेढ घण्टासम्म परेको वर्षाका कारण मैदानका केही भाग भिजेको थियो । ग्राउन्ड स्टाफले करिब ४ घण्टासम्म ती भाग सुकाउने प्रयास गरिरहे । कहिले कर्मचारीले फोहोर फाल्ने, कहिले पंखाको हावाले ती ठाउँहरू सुकाउने प्रयास गरियो ।

यस अवधिमा अम्पायरहरूले धेरै पटक मैदानको निरीक्षण पनि गरे । चौथो पटक निरीक्षण गर्दा राति ८ः४५ बजे फेरि पानी परेपछि खेल रिजर्भ डेमा गर्ने निर्णय भएको थियो ।

खेल रोकिनुअघि पहिले ब्याटिङ गरेको भारतले २४.१ ओभरमा दुई विकेट गुमाएर १४७ रन बनाएको थियो । विराट कोहली ८ रनमा अविजित छन् भने केएल राहुल १७ रनमा अविजित छन् ।

यस्तै, शुभमन गिल ५८ रन बनाएर आउट भए । उनलाई पाकिस्तानका शाहिन शाह अफ्रिदीले आउट पारे । यसअघि कप्तान रोहित शर्मा ५६ रन बनाएर आउट भए । उनको विकेट शादाब खानले लिए ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  १० : २४ बजे