‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

मलंगवामा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

मलंगवा । सर्लाही सदरमुकाम मलंगवामा लगाइएको कर्फ्यु हटेको छ ।

हिजो शनिबार साँझ ५ बजेदेखि आज आइतबार बिहान ८ बजेसम्म सदरमुकाम मलंगवा बजार क्षेत्रमा लगाइएको कर्फ्यु हटेको छ भने आजबाट ७२ घण्टासम्म कुनै पनि किसिमका भेला, आमसभा, प्रदर्शन र पर्चा पप्लेटिङ गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको छ ।

आज बिहान ८ बजेदेखि जारी निषेधाज्ञा भदौ २७ गते राति १२ बजेसम्म जारी रहने जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

कृष्ण जन्माअष्टमीको मूर्ति विसर्जन गर्ने क्रममा शुक्रबार साँझ दुई समुदायबीच झडप हुँदा मलंगवा बजार क्षेत्र अशान्त बनेको थियो । स्थिति नियन्त्रणबाहिर जाने स्थिति देखिएकाले स्थानीय प्रशासन ऐन २०२८ अनुसार कर्फ्यु आदेश जारी गरिएको थियो ।

हाल स्थिति सामान्य भएको र कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ । प्रशासनले धार्मिक, जातीय र सांस्कृतिक कायम राख्न सबैलाई आह्वान गरेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ११ : १३ बजे