वर्तमान संविधान बीपी विचारकै सार : राष्ट्रपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको वर्तमान संविधान बीपी विचारकै सार भएको बताएका छन्।

जननायक बीपी कोइराला स्मृति ट्रस्टले कोइरालाको ११० औँ जन्मजयन्तीका उपलक्ष्यमा शुक्रबार राष्ट्रपति भवन शीतलनीवासमा आयोजना गरेको बीपी साहित्य तथा स्वतन्त्रता सेनानी सम्मान कार्यक्रममा उहाँले सो धारणा व्यक्त गरेका हुन्।

राष्ट्रपति पौडेलले अहिलेको संविधानले गरेको समावेशी व्यवस्थासहितका लोकतान्त्रिक मूल्य मान्यता बीपीले चाहेको समावेशी समाजको अवधारणाको सार भएको धारणा व्यक्त गरे। उनले बीपीको विचारलाई अन्यथा व्याख्या नगर्न पनि आग्रह गरे।

“राष्ट्रिय एकता र मेलमिलापबाटै मुलुकसामु देखापर्ने समस्याको समाधान खोज्नुपर्छ भन्ने उहाँको धारणालाई समय र परिस्थितिसापेक्ष बनाउँंदै त्यसैलाई अनुकरण गरेर आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धि हासिल गर्न सफल भएका छौं”, उनले भने, “संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन र यसैका माध्यमबाट मुलुकसामु देखा पर्ने यावत समस्या समाधान गरी जनताले अपेक्षा गरेअनुरूप आर्थिक रुपमा समृद्ध नयाँ नेपाल निर्माण गर्न बीपीले अघि सारेको कल्याणकारी राज्य प्रणालीको अवधारणा सिद्धान्त, मूल्य, मान्यता र आदर्श आज पनि उत्तिकै सान्दर्भिक छन्।”

राष्ट्रपति पौडेलले विश्वमा सर्वोत्कृष्ट मानिएको उत्पादनमा वृद्धि, प्राथमिकता निर्धारणसहितको न्यायोचित वितरणमा आधारित लोकतान्त्रिक सिद्धान्तप्रतिको बीपीको विचार ‘सबै नेपालीको आधारभूत आवश्यकता र सबै नेपाली परिवारको मध्यम वर्गीय हैसियत’ भन्ने उनको धारणा समानताको सिद्धान्तलाई मुर्तरूप दिने व्यवहारिक र ठोस दृष्टिकोण स्पष्ट भएको बताउँंदै अहिले पनि सो दृष्टिकोण पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरे।

“बीपिले देखाउनुभएको आदर्शमा हामी हिड्न सकेमात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली हुन्छ भन्ने पनि म ठान्दछु”, उनले भने।

“उहाँ राजनीति र साहित्यका एक अनुपम पुञ्ज हुनुहुन्थ्यो, राजनीतिको कुनै प्रभाव साहित्यमा पर्न नदिइकन आफू दुवै क्षेत्रमा उत्तिकै अब्बल देखिनसक्ने बीपीको जस्तो यस्तो गुण विश्वका विरलै व्यक्तिमा पाइन्छ” राष्ट्रपति पौडेलले भने, “त्यस्तो व्यक्तित्व पाउनु नेपालीका लागि गर्वको विषय हो।”

राष्ट्रपति पौडेलले नेपालको इतिहासमा जनतालाई सार्वभौम अधिकार सम्पन्न बनाउन कठोर जेलनेल एवम् निर्वासनसहितको लामो संघर्षपूर्ण जीवन यात्रामा समर्पित कोइरालाको बहुआयामिक व्यक्तित्व राष्ट्रिय एवम् अन्तराष्ट्रिय जगतमा रहेको उनको भनाइ थियो।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ४ : २९ बजे