अङ्ग्रेजलाई परास्त गरेको खुसीयालीमा मनाइने ऐतिहासिक पाल्पा भगवती जात्रा मनाइँदै

पाल्पा । नेपाली फौजले अङ्ग्रेज फौजलाई पराजय गरेको उल्लास स्वरूप आज पाल्पामा ऐतिहासिक भगवती जात्रा (रथयात्रा) मनाइँदै छ । भगवती जात्राको अवसरमा लुम्बिनी प्रदेश सरकारले आज पाल्पा जिल्ला भर सार्वजनिक बिदा दिएको छ । पाल्पामा हरेक वर्ष कृष्णाजन्माष्टीको भोलिपल्ट भगवतीको रथयात्रा गरिने परम्परा छ । 

विसं १८७७ सालदेखि हरेक वर्ष तानसेनमा कृष्ण जन्माष्ठमीको भोलिपल्ट भगवतीको जात्रा निकालिँदै आएको छ । यो जात्रा नेपाल अङ्ग्रेज युद्धमा अङ्ग्रेजलाई नेपाली फौजले पराजित गरेको हुँदा राष्ट्रिय महत्त्व समेत बोकेको छ । युद्धमा निस्कनुअघि कर्णेल उजिरसिं थापाले विजय भएमा ठूलो मन्दिर बनाई हर्ष बढाईसहित सिँदुर जात्रा शुभारम्भ गर्ने भगवतीसँग भाकल गरेका थिए।  भाकल पूरा भएपछि कर्णेल थापाले मन्दिर बनाई यो जात्रा निकाल्न थालिएको हो । चार  ठाउँ नेपाली फौज पराजित हुँदा यहाँ दुई-दुई पल्ट नेपाली फौज विजयी भएको इतिहास रहेको इतिहासविद् निर्मल श्रेष्ठले बताउनुभयो । 

अङ्ग्रेजलाई पराजित गरेको सम्झनामा पाल्पाको तानसेनमा १०४ वर्षदेखि विजयोत्सव मनाइँदै आइएको छ । पाल्पाको नुवाकोट, बुटवलको जितगढी युद्धमा नेपालले अङ्ग्रेजलाई पराजित गरेको थियो । सोही ठाउँमा तत्कालीन पाल्पाका प्रशासक कर्णेल उजिरसिंह थापाको नेतृत्वमा  दुई पटकसम्म अङ्ग्रेजसँग भएको युद्धमा नेपालले विजय हासिल गरेको थियो । 

कर्णेल उजुरसिंह थापाले विसं १८७२ मा निर्माण थालनी गरी १८७६ मा तीन तले मन्दिर पूरा गरेका थिए। थापा नेतृत्वको फौजले विसं १८७२ वैशाख ७ गते रुपन्देहीको जीतगढीमा अङ्ग्रेजलाई परास्त गरेका थिए । जात्रालाई धार्मिक आस्थासँगै वीरताको सन्देश दिने राष्ट्रिय पर्वको रुपमा लिइने गरिएको छ । तानसेनको भगवती टोलस्थित भगवती मन्दिरबाट बाजागाजाका साथ शुरु हुने रथयात्रा  मुलढोकाबाट निकालेर बजार परिक्रमा गराइन्छ । नेपाली सेनाले पञ्चबली दिई विशेष पूजाअर्जना गरी रथयात्राले बजार परिक्रमापछि भगवती मन्दिर परिसरमै पुगेर विसर्जन गर्ने चलन छ । पाल्पा सदरमुकाम तानसेनमा भव्य रुपमा मनाइने भगवती जात्रा हेर्न पाल्पाका गाउँ गाउँबाट र छिमेकी जिल्ला गुल्मी,रुपन्देही,अर्घाखाँची, स्याङ्जा लगायतका ठाउँबाट समेत भक्तजन आउने गर्दछन् । भगवती जात्रापछि तानसेनमा सबै जात्रा समाप्त हुने स्थानीय बुद्धिजीवी चित्रबलीराम सुवालले बताउनुभयो । 

आज निकालिने ऐतिहासिक भगवती जात्राको सम्पूर्ण तयारी पूरा भएको भगवती मन्दिर व्यवस्थापन समितिका  अध्यक्ष अशोकमान महर्जनले बताउनुभयो ।  

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहिबार  १० : ०० बजे