साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

डा कोइराला बेपत्ता भएको १० दिनमा मृत फेला

काठमाडौं। कोशी नदीको पुल छेउमा गाडी छाडेर बेपत्ता भएका डा प्रज्वल कोइरालाको १० दिनपछि शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कोइरालाको शव बराहक्षेत्र नगरपालिका वडा–२ स्थित कोशीको भङ्गालोमा फेला परेको हो। 

कोशी नदीमा माछा मार्न गएका स्थानीयले नदीको सानो भङ्गालोमा शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले शव बेपत्ता डाक्टर कोइरालाको हुनसक्ने आशंकाबीच परिवारका सदस्यलाई खबर गरेको थियो। 

मृतकका बुवा दिवाकर कोइरालासहित झापाको दमक नगरपालिका–१ का वडाध्यक्ष हरिप्रसाद न्यौपानेको टोली शव भेटिएको स्थानमा पुगेको थियो। बुवा हरिप्रसादले शव प्रज्वलको भएको ठहर गरेका थिए। 

मृतक कोइरालाको शव परीक्षणका लागि मंगलबार नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। शव परीक्षण गरी बुधबार उनको परिवारलाई बुझाइने प्रहरीले जनाएको छ। 

झापाको दमक नगरपालिका– १ घर भएका डा कोइराला मोरङको उर्लाबारी नगरपालिका–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत थिए। 

गत भदौ १० गते आइतबार अस्पतालमा बिरामी चेकजाँच गरी बेपत्ता भएका थिए। खोजीका क्रममा उनी चढ्ने गाडी सुनसरी र उदयपुरको सीमाको कोशी पुलमा भेटिएको थियो। कोशी पुल छेउमा उनी चढ्ने गाडीसहित मोबाइल र पर्स समेत भेटिएको थियो। 

प्रहरी स्रोतका अनुसार अन्तिम समयमा कोइरालाले १ जना युवतीसँग संवाद गरेका थिए। ती युवती कोइरालाका प्रेमिका भएको बताइएको छ। 

दमकको लाइफ लाइन अस्पताल र उर्लाबारीको अरनिको अस्पतालमा लामो समयसम्म जनरल सर्जन भएर काम गरेका ३२ वर्षीय कोइराला बाबु–आमाका एक मात्र छोरा हुन्।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  २ : ३४ बजे