५८ जना सहसचिवको एकैपटक सरुवा

काठमाडौँ – सरकारले संघ, प्रदेश, आयोग र स्थानीय तहमा कार्यरत ५८ जना सहसचिवको एकैपटक सरुवा गरेको छ। राजस्व अनुसन्धानले छानबिन सुरु गरेको सुन र ललिता निवास जग्गा काण्डमा मुछिएका दुई सहसचिवलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ।

सरुवाको सूचीअनुसार अध्यागमन विभागमा महानिर्देशक झलकराम अधिकारीलाई संघीय मामिला मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ। उहाँलाई सुन काण्डका मुख्य व्यक्तिको रुपमा चिनिएका दावा छिरिङसँग सिधा सम्पर्क रहेको भन्दै सीआइबीले बयान लिइरहेको छ । उहाँलाई राजस्व अनुसन्धान विभागको महानिर्देशक भएकाबेला चोरीपैठारी रोक्न असफल भएको आरोपमा गत कात्तिकमा प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले उनलाई केही दिन आफ्नो कार्यालयमा राखेर गृह मन्त्रालय पठाएका थिए । गृह पठाए लगत्तै अध्यागमनको महानिर्देशक बनाइएको थियो । कर, राजस्व र अध्यागमनमा रहँदा उनले सुन तस्करसँग सम्बन्ध बढाएको अनुमान सीआइबीको छ ।

त्यस्तै ललिता निवास जग्गा काण्डमा मुछिएका सुशील वैद्यलाई संघीय मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ। दाङमा प्रमुख जिल्ला अधिकारी रहेकाबेला जग्गा काण्डमा छानबिन हुन थालेपछि उहाँलाई गृह मन्त्रालय तानिएको थियो। काठमाडौं मालपोत कार्यालयमा रहकाबेला उनको संलग्नता ललिता निवास जग्गामा मुछिएका थिए। सुन बरामद भएका बेला बिदामा रहेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अरुण पोखरेललाई सुदूरपश्चिमको आर्थिक मामिला मन्त्रालयमा पठाइएको छ। यसअघि उहाँलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको थियो। गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमा सचिव रहेको तुलसीराम भट्टराईलाई संघीय मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ ।

त्यस्तै संघीय मन्त्रालयमा सरुवा र पदस्थापनमा महत्त्वपूर्ण भूमिका रहने शक्तिशाली महाशाखाको रुपमा रहेको प्रशासन प्रमुख हेमराज तामाङलाई संस्कृति तथा पर्यटन मन्त्रालयअन्तर्गत सरुवा गरिएको छ। तत्कालिन संघीय मन्त्री अमनलाल मोदीले तामाङलाई उक्त जिम्मेवारी दिएका थिए । संघीय मन्त्रालयमा राष्ट्रिय योजना आयोगबाट सुमन दाहाललाई लगिएको छ। सुदूरपश्चिम प्रदेश आर्थिक मामिला मन्त्रालयका सचिव नारायणप्रसाद रेग्मीलाई संघीय मामिला मन्त्रालय सरुवा गरिएको छ। भन्सार विभागको महानिर्देशकसमेत भइसकेको दाहाललाई महत्वपूर्ण महाशाखा जिम्मा लगाउने तयारी स्वरुप संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगेको स्रोतको भनाइ छ।

सहरी विकास मन्त्रालय अन्तर्गत रहेका रवीन्द्र बोहरालाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ । साही मन्त्रालयका प्रदीप परियारलाई योजना आयोग सरुवा गरिएको छ ।

संघीयका बलाराम रिजाललाई गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालयको सचिवमा पठाइएको छ। कम्पनी रजिष्ट्रारको कार्यालयमा रजिष्ट्रार पदमा डेढ वर्षभन्दा बढी समय बसेका महेश बराललाई योजना आयोगमा सरुवा गरिएको छ। लोकसेवा आयोगका प्रवक्ता तोयनारायण सुवेदीलाई ऊर्जा, सिंचाई तथा जलस्रोत मन्त्रालयअन्तर्गत सरुवा गरिएको छ । त्यस्तै लोकसेवा आयोगमा रहेका प्रदीप कोइरालालाई वन तथा वातावरण मन्त्रालय सरुवा गरिएको छ।

वाग्मती पदेशको आर्थिक मामिला मन्त्रालयका सचिव महेश आचार्यलाई अर्थ मन्त्रालय सरुवा गरिएको छ । गृहका शिवराम न्यौपानेलाई लोकसेवा आयोग पठाइएको छ । योजना आयोगका प्रकाश दाहाललाई बाग्मतीको आर्थिक मामिला मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । वाग्मती प्रदेश मुख्यमन्त्रीको कार्यालयमा रहेको शिवराम गेलाललाई गृह मन्त्रालय सरुवा गरिएको छ। वाग्मती प्रदेश प्रमुखको कार्यालयमा रहेका ओमबहादुर खड्कालाई नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ९ : ५७ बजे