कोशी सरकारविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज पनि फैसला भएन ।

निवेदकको तर्फबाट जवाफी बहस बाँकी रहेकाले सुनुवाइ हेर्दाहर्दैमा गएको हो ।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले हालेको रिट निवेदनउपर आज विपक्षीका तर्फबाट कानून व्यवसायीहरूले बहस गरेका थिए । विपक्षीका तर्फबाट बहस सकिएपछि निवेदकका तर्फबाट जवाफी बहस हुनेछ । निवेदकका तर्फका कानून व्यवसायीहरुले जवाफी बहस सकेपछि फैसला आउने छ । भोलि बिदा भएका कारण पर्सिमात्रै अब जवाफी बहस हुनेछ ।

सर्वोच्चका न्यायाधीशहरु सपना प्रधान मल्ल, डा. कुमार चुँडाल र नहकुल सुवेदीको पूर्णइजलासमा हिजोबाट रिटउपर सुनुवाइ चलिरहेको छ । हिजो निवेदकका तर्फबाट कानून व्यवसायीहरूले बहस गरेका थिए ।

विपक्षीका तर्फबाट बहस गर्ने कानून व्यवसायीहरूले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत संविधानसम्मत नै रहेको दाबी गर्नुभएकाे छ ।

विपक्षीको तर्फबाट बहस गर्दै सरकारी वकिल, कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता बुद्धिबहादुर कटुवालसहित विपक्षी कानून व्यवसायीले अध्यक्षता गर्ने इस्राइल मन्सुरी सभामुख वा उपसभामुख नभएको तथा उपसभामुखले बैठक नचलाएपछि बाध्यात्मक रूपमा उनले बैठकको अध्यक्षता गरेकाले उहाँले मत दिन मिल्ने जिकिर गर्नुभयाे ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ६ : ०२ बजे