सुनको मूल्यमा नयाँ कीर्तिमान

फ्रान्सेली सेना फिर्ताको माग गर्दै निजेरमा प्रदर्शन

नियामी—फ्रान्सेली सेना फिर्ताको माग गर्दै अफ्रिकी देश निजेरमा प्रदर्शन चर्किएको छ । हजारौं प्रदर्शनकारीले करिब १ हजार ५ सय फ्रान्सेली सैनिक बसेको अड्डाअघि प्रदर्शन गरेका हुन् ।

पश्चिमी अफ्रिकी मुलुक निजेरमा गत जुलाई २६ मा सेनाले ‘कु’ गर्दै सत्ता हत्याएको थियो । राष्ट्रपति मोहम्मद बाजौमलाई अपदस्थ गरी सैनिक नेतृत्व अब्दुर्रहमान चियानीले आफूलाई सरकार प्रमुख घोषणा गरेका छन् । त्यसयता फ्रान्सेली सैनिकलाई फिर्ता गर्न माग गर्दै प्रदर्शन भइरहेको छ । सेनाले पनि फ्रान्सेली अधिकारीलाई सेना फिर्ता गर्न आग्रह गरे पनि फ्रान्सले हालसम्म कुनै जवाफ दिएको छैन ।

कुनै समय फ्रान्सको उपनिवेश रहेको निजेरमा अपदस्थ गरिएका राष्ट्रपति बाजौमलाई पनि फ्रान्सको समर्थन थियो । हालै भएको चुनावमा बाजौम विजयी भएपछि सेनाले उनलाई हटाउँदै सत्ता नियन्त्रणमा लिएको हो । सेनाले ३ वर्षपछि मात्र सत्ता छाड्ने अडान राखेको छ । पश्चिम अफ्रिकाका बुर्किना फासो, गिनी, माली र चाडपछि निजेरमा पनि सैन्य शासन लागू भएको हो ।

यी सबै देशहरू कुनै बेला फ्रान्सको उपनिवेश थिए भने पछिल्लो समयसम्म यहाँ उसैको दबदबा थियो । सेनाले सत्ता कब्जा गर्न थालेपछि भने यी देशहरूमा फ्रान्सलगायत पश्चिमा मुलुक र अमेरिकाको पकड कमजोर बन्दै गएको छ भने रुसको प्रभाव बढिरहेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  १० : २२ बजे