पेप्सीकोलामा दुर्घटना अपडेट: सशस्त्र प्रहरी जवानसहित दुई जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको पेप्सीकोलामा सवारी दुर्घटनामा परी घाइते भएका १४ जनामध्ये दुईजनाको मृत्यु भएको छ ।

जडीबुटीदेखि पेप्सीकोलातर्फ जाँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसायी सङ्घको बा ३ ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा ६ च ५३४२ नम्बरको बलेरो गाडी आज बिहान ७ः३० बजे ठोकिँदा दुर्घटना भएको थियो ।

दुई गाडी ठोकिँदा बागमती प्रदेश ०२–०३७ प ५३११ नम्बरको डिओ स्कुटर र बागमती प्रदेश ०२–०४१ प ४८३८ नम्बरको एफजेड मोटरसाइकलसमेत दुर्घटनामा परेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको अस्पतालमा मृत्यु भएको जानकारी दिनुभयो । मृत्यु हुनेमा मोटरसाइकल चालक सर्लाहीका २१ वर्षीय राज भट्टराई र सशस्त्र प्रहरी बल सिनामङ्गलमा कार्यरत २५ वर्षीय उषा थापा रहेका छन् । दुर्घटनामा सङ्लग्न बस चालक रामेछापका २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  १२ : ०४ बजे