काठमाडौँ । एशिया कप २०२३ को तेस्रो खेल आज भारत र पाकिस्तानबीच क्यान्डीमा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ । टस दिउँसो २ः४५ बजे हुनेछ ।
पहिलो खेलमा पाकिस्तानले नेपाललाई पराजित गरेको थियो । अर्कोतर्फ भारतीय टोलीको यो पहिलो खेल हो । चार वर्षपछि एकदिवसीय क्रिकेटमा दुवै टोली आमनेसामने हुँदैछन् । यसअघि उनीहरुको अन्तिम भिडन्त २०१९ को विश्वकपमा भएको थियो ।
खेलको एक दिनअघि नै पाकिस्तानले प्लेइङ–११ घोषणा गरेको छ । भारतीय टोलीले भने प्लेइङ–११ टसको समयमा घोषणा गर्नेछ ।
वर्षा हुने ८४ प्रतिशत सम्भावना
विभिन्न मौसमी वेबसाइटका अनुसार शनिबार दिउँसो खेल हुने समयमा क्यान्डीमा बादल रहिरहनेछ । खेलको समयमा वर्षाको सम्भावना ८४ प्रतिशत छ ।
हेड टु हेड
भारत र पाकिस्तानबीच कुल १३२ ओडीआई खेलिएको छ । भारतले ५५ खेल जितेको छ भने पाकिस्तानले ७३ खेल जितेको छ । ४ खेल अनिर्णित रहे । यी दुई टोली अन्तिम पटक २०१८ को एकदिवसीय एसिया कपमा भिडेका थिए । त्यसपछि उनीहरूबीच २ खेल खेलियो र दुवै पटक भारतले जित्यो ।
श्रीलंकामा एसिया कपको दौरान भारत र पाकिस्तान तीन पटक भिडेका छन् । दुवैले एक–एक पटक खेल जितेका थिए । जबकि एक खेल वर्षाका कारण अनिर्णित रह्यो ।
पछिल्लो पटक दुवै टोली सन् २०१० मा डम्बुलाको मैदानमा भेटेका थिए । यो खेल भारतले एक बल बाँकी रहँदै ३ विकेटले जितेको थियो । यसअघि सन् २००४ मा कोलम्बोमा भएको खेल पाकिस्तानले ५९ रनले जितेको थियो । दुवै टोली पहिलो पटक क्यान्डीमा एकदिवसीय क्रिकेटमा आमनेसामने हुँदैछन् ।
भारतका शुभमन गिल सन् २०२३ मा एकदिवसीय क्रिकेटमा भारतका लागि सर्वाधिक रनस्कोरर बनेका छन् । जबकि कुलदीप यादव सर्वाधिक विकेट लिने बलर हुन् ।
अर्कोतर्फ पाकिस्तानका कप्तान बाबर आजमका लागि यो वर्ष उत्कृष्ट रह्यो । उनले १२ एकदिवसीय खेलमा ६८९ रन बनाएका छन् । उनीपछि कप्तान फखर जमान रहेका छन् ।
पिच कस्तो छ ?
यहाँको पिच ब्याटिङका लागि राम्रो छ । यहाँ पहिलो इनिङ्सको औसत स्कोर २५० रन रहेको छ । पिच सिम बलरका लागि सुरुमा सहयोगी हुन सक्छ । यसले खेल अघि बढ्दै जाँदा स्पिन बलरहरूलाई पनि मद्दत गर्नेछ ।
एजेन्सी
प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार ८ : १९ बजे
प्रतिक्रिया