मेनपावर कम्पनीको लाइसेन्स निलम्बनमा

काठमाडौँ । वैदेशिक रोजगार विभागले दुई वटा मेनपावर कम्पनीको लाइसेन्स निलम्बन गरेको छ ।

विभागले ओमेगा इन्टरनेशनल र ओक्सन इन्टरनेशनल (अवतार ह्युमन रिसोर्स) मेनपावर कम्पनीको लाइसेन्स निलम्बन गरेकाे हाे । 

सीपयुक्त दक्ष जनशक्तिलाई व्यक्तिगत रुपमा गन्तव्य मुलुकमा पठाउने गरी शंकास्पद कार्यहरु गर्ने ओमेगा इन्टरनेशनलले सामाजिक सञ्जाल मार्फत पूर्वस्वीकृतिविना र भ्रमपूर्ण सूचना प्रसारण गरेर नेपाली डाक्टरहरुलाई कुवेत पठाइदिने भनी सूचना प्रसारण गरेको भन्दै विभागले लाइसेन्स निलम्बन गरेको विज्ञप्तिमा उल्लेख छ । 

त्यस्तै वर्किङ भिसाको प्रलोभन देखाई सन्देहपूर्ण कारोवार गर्नुका साथै व्यक्तिगत रुपमा दक्ष जनशक्ति वैदेशिक रोजगारमा पठाउने कार्यमा संलग्न ओक्सन इन्टरनेशनललाई विभागले निलम्बन गरेको विज्ञप्तिमा उल्लेख छ । 

विभागले सामाजिक सञ्जालमा प्रसारण हुने यस्ता भ्रमपूर्ण विज्ञापनमा विश्वास नगर्न पनि विज्ञप्ति मार्फत अनुरोध गरेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ६ : ०७ बजे