सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले दुई बिचौलियालाई नियन्त्रणमा लिएको छ ।
सेवाग्राहीको उजुरीको आधारमा कारोबार गर्दै गर्दा चौतारा साँगाचोकगढी नगरपालिका ५ का श्याम तामाङ र इन्द्रावती गाउँपालिका १ का मिङमार शेर्पालाई पक्राउ गरी अनुसन्धानमा राखिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले जानकारी दिनुभयो ।
राहदानीको फारम तत्काल भर्ने,फोटो खिचाउने र छिटो राहदानी उपलब्ध गराउने आश्वासन दिँदै दैनिक बिचौलियाले सेवाग्राहीलाई दुःख दिएको भन्ने गुनासो बढेकोले बिचौलियाको निगरानी जिल्ला प्रशासन कार्यालयले बढाएको थियो ।
बिचौलियाकै कारण सेवा प्रवाहमा नागरिकको विश्वासमा कमी आएको छ । जिल्ला प्रशासन कार्यालयका कर्मचारी माथि नै आशङ्का उत्पन्न भएपछि निगरानी बढाएको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी श्रेष्ठका अनुसार सेवाग्राहीको चापमा कमी रहँदा समेत सेवाग्राहीको गुनासो कायमै रहेपछि आशङ्का पैदा भएको हो ।
कार्यालयका कर्मचारीको समेत आन्तरिक अनुसन्धान गरी गुनासोमुक्त बनाउने तरिकाले अनुसन्धान गरिरहेको उहाँको भनाई छ । कार्यालयका प्रमुख तथा उपल्लो तहको कर्मचारीको नाममा पैसा असुल गरेको भन्ने गुनासो समेत कार्यालयमा आएको श्रेष्ठ बताउनुहुन्छ ।
जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सबै सेवा एकै दिन प्रदान गर्ने गरी व्यवस्था मिलाएर कार्य सम्पादन गरिरहेको वेला यस्ता गुनासा र उजुरीप्रति आफूहरू चिन्तित रहेको उहाँ बताउनुहुन्छ । कुनै पनि बिचौलियाको प्रलोभनमा नपर्न र सबै सेवा एकै दिन प्रवाह हुने गरी कार्य सम्पादन भएको जानकारी श्रेष्ठले दिनुभयो ।
प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार २ : ३४ बजे
प्रतिक्रिया