साफ यू–१७ च्याम्पियनसिप आजदेखि

राजनीतिमा अबको बाटो : जनताको सहभागिता कि संलग्नता ?

राजनीतिमा जनताको सहभागिता कि संलग्नता ? कुन विचारले कुन पक्ष लिन्छ ? विचार विमर्श र चिन्तनमार्फत उत्तर खोज्नुपर्ने र जनतालाई सुसूचित गर्नुपर्ने समय आएको छ । यति बेला जनतालाई भ्रमित बनाउँदै भावनात्मक रूपमा भड्काउने राजनीति गर्नेहरू अर्थात् दलाल पुँजीवाद अर्थात् जङ्कवादले आफूलाई सत्ताको नेतृत्वमा पुर्‍याउन चुनावमा जनताको सहभागितामा मात्रै सीमित बनाउन खोज्छ भने प्रगतिशील लोकतान्त्रिक राजनीति गर्नेहरूले जनताको संलग्नतामार्फत परिपूर्ण लोकतन्त्र मार्फत जनताको नियमित सुख र देशको समृद्धि खोज्छ ।

हामी नेपालीहरू भ्रममा परेर भावनात्मक रूपमा भड्काऊ पर्दा अनि आफ्नो आवश्यकता र सामर्थ्यहरू नचिन्दा नेपालमा नियन्त्रित अस्थिरता र परनिर्भरता बढिरहेको छ । अहिले त्यही नियन्त्रित अस्थिरता चाहने पक्षले नेपालको राजनीतिमा कम्फर्टेबलवाद र लोकप्रियताादको फ्युजन गराएर अर्कोवाद जङ्कवाद जन्माउँदै छ । त्यसैले हामीले ढिला नगरी बुझ्नुपर्छ, “सुख, समृद्धि, शान्ति र सन्तुष्टि ल्याउनका लागि नयाँ शिक्षामार्फत राजनीतिलाई वैचारिक बनाउनुपर्छ, नेतृत्वमा निष्ठा खोज्नुपर्छ, नागरिकमा विवेक र चेत रोप्नुपर्छ र समाजमा भाइचारा बढाउनुपर्छ । अनि मात्र देश जनअपेक्षाअनुसार अघि बढ्छ ।“

लोकतान्त्रिक गणतन्त्र जनमुखी र देशमुखी बनाउने हो भने वैचारिक आधार र व्यवहारहरू हेरेर राजनीतिक दल र नेतृत्व चयन गर्ने क्षमता हामीले देखाउन सक्नुपर्छ । त्यसैले यतिखेर

गति होइन, मति
नेता होइन, नीति हेर्नु छ ।१।
चित्र होइन, चरित्र
अनुहार होइन, नैतिकता खोज्नु छ ।२।
प्रचार होइन, विचार
सञ्जाल होइन, सङ्गठन मान्नु छ ।३।
भावना होइन, भविष्य
भ्रम होइन, यथार्थ ठुलो ठान्नु छ ।४।
दान अनुदान होइन, योगदान
​​​​​​​दण्डमा माफी होइन, श्रमदान गर्नु छ ।५।

हामीले बुझ्नु र बुझाउनुपर्छ, मति अर्थात् नियत ठिक, नीति, चरित्र र नैतिकता राम्रो अनि विचार प्रगतिशील र व्यवहार लोकतान्त्रिक भएको दल र नेतृत्व चिन्न सक्ने अनि देशभित्रै सेवा र उत्पादनमा रमाउने नागरिक उत्पादन गर्ने शिक्षा र शिक्षालय आजको मुख्य आवश्यकता भएको छ । अहिले यो आवश्यकता बुझाउन नसक्दा नेपालको राजनीतिमा जङ्कवाद हाबी हुँदै छ । शिक्षाको चरित्र ठिक नहुँदा समाजको विकासको गति सुस्त र नागरिक र नेतृत्वको मति स्वछन्द र अराजक बन्दै छ। तर हामी भने राजनीतिले देश बिग्रियो भन्दै खराब शिक्षा व्यवस्थाको निरन्तरताबाट देशको अवस्था सुधार्ने परिकल्पनाका साथ जनतालाई भ्रमित पार्दै भावनात्मक रूपमा भड्काएर जंकवादी राजनीतिलाई बलियो बनाउने प्रयास गर्दैछौँ । 

आज हामीलाई ’गति होइन, नियत ठिक भएको राजनीतिक दल र नेतृत्व चाहिएको छ ।’ जङ्कवादलाई कसरी बुझ्ने र बुझाउने ? यो प्रश्न मुख्य प्रश्न बन्दै छ । जंकवादबाट देश र जनतालाई जोगाउन हामीले यसको संरचनाहरू चिनेर त्यसलाई भत्काउनुपर्छ । 

कम्फर्टेबलवाद र लोकप्रियतावादको गठजोड नै जङ्कवाद हो ।
कम्फर्टेबलवादः नवउदारवाद र उपयोगितावाद
लोकप्रियतावाद: अवसरवाद र पलायनवाद
जंकवादः कम्फर्टेबलवाद र लोकप्रियतावाद
तसर्थ
जङ्कवादको विकल्प खोजौँ ।
वैचारिक प्रगतिशील लोकतान्त्रिक राजनीति रोजौँ ।
लोकतान्त्रिक गणतन्त्रलाई परिपूर्ण बनाऔँ ।
समृद्ध देश, सुखी नागरिक बनाउने राजनीति अघि बढाऔँ ।

उति बेला सरकारको नेतृत्वमा हुँदा चीन पुग्न हतारिने माओवादी सुप्रिमो प्रचण्ड यति बेला उपयोगितावादको बाटो हुँदै जङ्कवादमा आइपुग्दा चीन जान नपरे हुन्थ्यो भन्ने पाराले गतिविधिहरू गर्दैछन् । त्यसैले त उनले चीन पुग्न दिल्लीबाट रोम न्युयोर्क हुँदै बेइजिङ पुग्ने लङ मार्च अथवा लामो बाटो रोजेका छन् । यसबाट स्पष्ट हुन्छ, प्रचण्डको राजनीतिक धार र नियत । प्रचण्ड पथको लङ मार्चले बेइजिङ पुग्न दिल्ली, रोम र न्युयोर्कको रुट प्रयोग गर्दैछ। अब बुझ्नुस्, प्रचण्डको राजनीतिक धार माओवाद हुँदै उपयोगितावाद भएर जङ्कवादमा कसरी पदार्पण हुँदै छ । नवउदारवाद र लोकप्रियतावादको साथमा जङ्कवादको लक्ष्य बिआरआई रोक्ने एमसीसी बोक्ने र आईपिएसको सहयोगी बन्ने देखिन्छ ।

प्रधानमन्त्री प्रचण्डको पछिल्लो १५ वर्षे राजनीतिलाई लिएर सुधिर शर्माले कान्तिपुरमा लेखेका छन्, “प्रधानमन्त्री प्रचण्ड २०६५ सालमा पहिलो पटक प्रधानमन्त्री बन्दा भारतको साटो सुरुमा सरकार सम्हालेको एक साता पनि नबित्दै बेइजिङ ओलम्पिक्सलाई बहाना बनाएर चीन उडेका प्रचण्ड यति बेला चीन पुग्न दिल्ली, रोम र न्युयोर्क घुमेर मात्र बेइजिङ पुग्ने घुमाउरो बाटो रोजेका छन् ।” जसले गर्दा आज नेपाल चीन सम्बन्ध साँघुरिएको अवस्थामा पुगेको छ । जबकि सार्वजनिक खपतका लागि चीनसँगको सम्बन्धलाई लिएर बाहिर जेसुकै भनिएको किन नहोस् ।

यति बेला हाम्रा सामु एकातिर बिग्रेको राजनीति र नेतृत्वलाई ठिक बाटोमा ल्याउनु छ, अर्कातिर देशको समग्र अवस्थामा सकारात्मक परिवर्तन अनुभूति हुने गरी राजनीतिलाई वैचारिक जगमा अघि बढाउनुपर्नेछ । यो चुनौतीलाई सहज रूपमा अवसरमा बदल्न अर्थात् देशलाई समृद्ध बनाउन कृषि र शिक्षामा क्रान्तिबिना सम्भव छैन अनि नेपालले समृद्धिको यात्रा सुरु गर्न सक्दैन । तर हामी भने सतही जानकारी, गलत प्रभाव र अनुचित दबाबमा परेर राष्ट्रको आवश्यकता र क्षमता विपरीत जंकवादी विचार, राजनीति र गतिविधिहरूमा रमाइरहेका छौँ । जसले हामीलाई हिजोभन्दा आज कमजोर र परनिर्भर हुन बाध्य पारिरहेको छ ।

विकासको बलियो आधार र सूचक चिन्ने र चिनाउने सवालमा हामी असफल अनि आज जेलाई विकास र प्रगति भन्दैछौँ, त्यो न विकास हो न त प्रगति किनभने हामी भ्रमबाट निर्देशित भइरहेका छौँ । हरेक कुरामा बढ्दो परनिर्भरता त्यसको प्रमाण हो । त्यसैले परनिर्भरता कम गर्ने नीति र कार्यक्रम ल्याउने राजनीति चाहिएको छ। केही मान्छेहरू भन्दैछन्, “शिक्षामा राजनीति भएर शिक्षा बिग्रियो । तर त्यही शिक्षा बिग्रियो भन्ने मान्छेहरू शिक्षा व्यवस्था बिगार्ने मुख्य भूमिकामा देखिएका छन् । शिक्षामा राजनीति भएर होइन, शिक्षामा दर्शन नभएर बिग्रिएको हो। शिक्षा गुणात्मक बनाउने राजनीति नभएर शिक्षा बिग्रिएको हो । यसर्थ शिक्षालाई गुणस्तरीय बनाउने राजनीति गर्नुपर्ने भएको छ ।”

“नागरिक निर्यात गरेर आएको विप्रेषणले देश समृद्ध बन्दैन ।” विप्रेषणले त अर्थतन्त्रमा देखिएका समस्याहरूको आकस्मिक उपचार गर्ने मात्रै हो । देशलाई समृद्ध बनाउन नागरिकले देशभित्र नै उत्पादन र सेवाको क्षेत्रमा संलग्न हुनुपर्छ । विदेशको भूमिमा रगत पसिना बगाएर आफ्नो भूमि उर्वर हुँदैन भन्ने चेत हामीमा आउनुपर्छ र परदेशी बन्ने होड रोक्नुपर्छ र छोड्नुपर्छ ।” तर देशलाई कमजोर बनाउने लक्ष्यका साथ जङ्कवादीहरू “नागरिक निर्यात गरेर वस्तु आयात गर्ने नीति” मा रमाइरहेका छन्। त्यसैले प्रतिदिन २००० देखि २५०० युवाहरू विदेशका लागि उडिरहेका छन् ।

आज हामीले प्रश्न उठाउने र यसको सही उत्तर खोज्नु पर्ने समय भएको छ ।
देवालयबाट देशले दीक्षा
शिक्षालयबाट देशले शिक्षा
न्यायालयबाट देशले न्याय
किन पाएन ?
प्रशासनबाट जनताले सेवा
सुरक्षा निकायबाट जनताले सुरक्षा
राजनीतिबाट जनताले नीति
किन पाएन ?
सामाजिक सञ्जालले सम्बन्ध
नयाँ पुस्ताले राष्ट्र राष्ट्रियता
दान अनुदानले विकास
किन राम्रो भएन?
उत्तर खोज्ने हो कि!

भोलिका दिनमा जङ्कवादले बाह्य प्रभाव र दबाबमा लोकतान्त्रिक गणतन्त्रभन्दा राजतन्त्र नै ठिक भन्ने अवधारणालाई जनताको आवाज र माग भन्दै नेपालमा राजतन्त्र फर्काउने असरवादी राजनीतिको बाटो नरोज्ला भन्न सकिन्न । किनभने प्रचण्डको गेरूवस्त्र धारण र भारतीय बाबाहरूको नेपालमा अवतरणले त्यसकै सङ्केत गरिरहेको छ । नेपालमा हामीले समस्या देख्यौँ, विभिन्न व्यवस्थाहरू भोग्यौँ, देशको अवस्था राम्रो भएन पनि भन्यौँ । तर त्यसका कारणहरू खोजेनौँ । जसले गर्दा जनतामा वितृष्णा बढ्दा जंकवादी राजनीति मौलाउने आधार बलियो बन्दै गयो र आज देश जंकवादबाट पीडित बन्नुपर्ने परिस्थिति विकास हुन पुग्यो ।

अब देशलाई जंकवादी राजनीतिबाट मुक्त बनाउनका लागि हामी एकातिर प्रगतिशील लोकतान्त्रिक वैचारिक राजनीतिलाई बलियो बनाउँदै लोकतन्त्रलाई परिपूर्ण बनाउनु पर्नेछ भने अर्कातिर नागरिकको विवेक र चेतना उत्कृष्ट बनाउन शिक्षाले नागरिकको चेतना, नागरिकको चेतनाले वैचारिक राजनीति र वैचारिक राजनीतिले देशको नीति असल बनाउने शिक्षा तथा सामाजिक व्यवस्थाको विकास अनिवार्य भएको छ ।

यति बेला हामी नेपालीको अवस्था मनोविज्ञ भिक्टोर फ्र्यांकले भनेजस्तो भएको छ । भिक्टोरले भनेका छन्, “जब हामी परिस्थिति परिवर्तन गर्न सक्षम हुँदैनौँ, तब हामी आफैलाई परिवर्तन गर्ने चुनौतीमा पर्छौँ ।” अब यो चुनौतीलाई अवसरमा बदल्न राजनीतिक रूपमा जङ्कवादलाई पराजित गर्नुपर्ने समय भएको छ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  ८ : ५२ बजे