सुनको मूल्यमा नयाँ कीर्तिमान

नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि

काठमाडौं । आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेत सहभागी महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ ।

नेपालले हङकङमाथि १३ रनको जित निकालेको हो ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेपछि पहिला बलिङ गर्ने निर्णय गरेको थियो । त्यस क्रममा हङकङले नेपालविरुद्ध ब्याटिङ गर्दै निर्धारित २० ओरमा ६ विकेट गुमाउँदै एक सय एक रन बनायो र जितका लागि १०२ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

त्यसपछि नेपालले ५ दशमलव ३ ओभर खेलिसक्दा मैदान मुसलधारे वर्षा भयो । केही बेरमा वर्षा रोकिए पनि मैदान पुरै हिलाम्य बनेपछि अम्पायरले डीएल विधिबाट खेलको छिनोफानो गरेका हुन् ।

नेपालले समूह चरणको पहिलो खेलमा हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको थियो भने अन्तिम खेलमा मलेसियासित ६ विकेटले पराजित भएको थियो ।

यस्तै, हङकङ पहिलो खेलमा नेपालसित ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा मलेसियालाई १० विकेटले तथा तेस्रो खेलमा कुवेतलाई १६ रनले हराएको थियो । नेपाल र हङकङ रनरेटका आधारमा फाइनलमा प्रवेश गरेका थिए ।

आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेत महिला टी–ट्वान्टी सिरिजमा सहभागी भएका थिए । यही अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आईसीसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप नेपालले उक्त सिरिज खेलेको हो ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ३ : १५ बजे