किन मारिए वाग्नर प्रमुख प्रिगोजिन, के पुटिनले आफ्नै साथीसँग बदला लिए?

रुसको निजी सैन्य संगठन, वाग्नर समूहका प्रमुख ६२ वर्षीय येवगेनी प्रिगोजिनको मृत्यु भएको छ। बुधबार उनी चढेको विमान मस्कोको उत्तरी क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो। रुसको फेडरल ट्रान्सपोर्ट एजेन्सीले प्रिगोजिनसँगै वाग्नर समूहका सहसंस्थापक दमित्री अतकीन, पाँच अन्य यात्री र चालक दलका तीन सदस्यको मृत्यु भएको जनाएको छ। 

प्रिगोजिन सवार विमान दुर्घटना भएको हो या योजनाबद्ध रूपमा आक्रमण गरेर विमान खसालिएको हो भन्नेबारे विभिन्न टिकाटिप्पणी भइरहेका छन्। कतिपयले योजनाबद्ध रूपमै आक्रमण गरेर विमान खसालिएको दाबी गरेका छन्। 

रुसीसँगै विदेशी नागरिकलाई समेत सैन्य समूहमा आबद्ध गरेर सुरक्षार्थ खटाउने एक निजी सैन्य समूह हो–वाग्नर। डेढ वर्षभन्दा लामो समयदेखि जारी रुस–युक्रेन युद्धमा वाग्नरले रुसलाई सैन्य सेवा दिइरहेको थियो। तर वाग्नर प्रमुख प्रिगोजिनले दुई महिना पहिले, जुन २३ मा रुसमा विद्रोह गरे। त्यसले संसारभर हलचल ल्याइदियो। कतिपयले यसलाई ‘सैन्य कूको प्रयास’ भएको टिप्पणी पनि गरे। 

वाग्नर प्रमुख प्रिगोजिनले भने आफूले विद्रोह नगरेको दाबी गरेका थिए। विद्रोहको प्रयास गरेको नभइ रुसी नागरिकका लागि लड्न लागेको उनको भनाइ थियो। तर उनले त्यसक्रममा रुसी रक्षामन्त्री सर्गेई शोइगुइलाई हटाउनुपर्ने माग गरेका थिए। युक्रेन युद्धमा रुसी सेनाले भोगेको असफलता र युक्रेनमा भएको रुसी सेनाको उच्च क्षतिलाई उनले शोइगुइको असफलता भनेका थिए। 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भने वाग्नरको यो कदमबाट झस्किइसकेका थिए। उनले एक भिडियो सन्देश जारी गरेर विद्रोह गर्नेहरूलाई कारबाही गर्ने भन्दै त्यसविरुद्ध प्रतिआतङ्कवाद कानून लागू गरेको बताएका थिए। वाग्नर समूहका प्रमुखको नाम नलिइकन पुटिनले ‘विश्वासघात र देशद्रोह गर्नेलाई कारबाही गर्ने’ घोषणा गरेका थिए। 

प्रिगोजिनको विमान दुर्घटनामा मृत्युलाई कतिपयले पुटिनले लिएको त्यसको बदलाको रूपमा पनि चर्चा गरिरहेका छन्। 

विद्रोहपछि भागेर बेलारुस पुगेका र त्यहीँ बसेका प्रिगोजिनसँग पुटिन हलुका रूपमा प्रस्तुत भएका देखिए। तर त्यसपछि पनि पुटिनले उनलाई माफी गर्ने छैनन् भन्ने चर्चा चुलिएको थियो। त्यहीबीच आश्चर्यजनक रूपमा रुसले वाग्नर समूहमाथिका सबै आरोपलाई खारेज गरेको जनायो। 

त्यहाँका स्थानीय पत्रपत्रिकाले भने त्यसबेला त्यो सम्झौता देखावटी मात्र भएको भनेर लेखेका थिए। यो मामिलाका जानकारहरूका अनुसार प्रिगोजिनले राष्ट्रघात गरेकोप्रति पुटिनको मनमा बलेको आगो निभिसकेको थिएन। रुसी सरकारसँगको सम्झौतापछि वाग्नर समूहविरुद्धका सबै आरोप फिर्ता लिइए पनि पुटिन उपयुक्त मौकाको प्रतिक्षामा थिए।  

दुर्घटनाको रहस्य

दुर्घटनामा प्रिगोजिनसहित १० जनाको ज्यान गएको छ। उनीहरू आरए–०२७९५ लेखिएको आफ्नै निजी जेट ‘एम्ब्रेयर लिगेसी’मा सवार थिए। तर फ्लाइटराडार २४ ले यो विमान कहाँबाट उडेको थियो भन्ने कुरा देखाउन सकेको छैन। 

बुधबार यो विमान मस्कोको नजिक २९ हजार फिटमाथि उडिरहेको देखिएको थियो। तर ट्र्याकिङ वेबसाइटहरूमा त्यसपछि यो विमान देखिन छाड्यो। त्यसपछि यसको उचाइ शून्य फिट देखिएसँगै विमान खसेको हुनसक्ने संकेत मिल्यो। रुसी सञ्चारमाध्यमहरूमा आएका भिडियोमा विमान आकाशबाट खसेर दुर्घटनामा परेको त देखिन्छ, तर के कारणले खस्यो भन्ने केही संकेत मिल्दैन।  

विमान ‘अटोलक्स ट्रान्सपोर्ट’मा दर्ता गरिएको थियो। अमेरिकी सरकारले उक्त विमान प्रिगोजिनकै रहेको दाबी गरेको छ। पछिल्लो समय यो विमानले मस्कोदेखि सेन्ट पिटर्सबर्गको बीचमा कैयौँ उडान गरेको देखिएको छ। बेलारुसका स्थानीय मिडियाले यो विमानको तस्वीर पनि लिएका थिए। त्यसैले प्रिगोजिन यही क्षेत्रमा भएको अनुमान गरिएको थियो। 

वाग्नर समूहसँग जोडिएको टेलिग्राम च्यानल ‘ग्रे जोन’ले नै उनको मृत्युको पुष्टि गरेको छ। ग्रे जोनले भनेको छ, “प्रिगोजिनले रुसको विरुद्ध गद्दारी गरेका थिए, त्यसैले उनलाई मारियो।” यस्तै कतिपयले रुसको ‘हवाई प्रतिरक्षा प्रणाली’ले वाग्नरको विमानलाई खसाएको हुनसक्ने पनि उल्लेख गरेका छन्। 

विश्वका नेताहरू के भन्छन्? 

अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रिगोजिनको मृत्यले आफूलाई कुनै अचम्म नलागेको टिप्पणी गरेका छन्। उनले भनेका छन्, “रुसमा पुटिन नजोडिएका घटना सायदै छन्।” उनको भनाइले प्रिगोजिनको मृत्यु पुटिनसँगै जोडिएको संकेत गर्छ। 

युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोदोल्याकले एक्स (ट्विटर)मा ‘प्रिगोजिनले आफ्नो मृत्यु–पत्रमा आफैले हस्ताक्षर गरेको’ टिप्पणी गरेका छन्। 

यस्तै, बेलायतको बाह्य गुप्तचर निकाय ‘एमआइसिक्स’को रुसी इकाइका पूर्वप्रमुख क्रिस्टोफर स्टिलले प्रिगोजिनको अन्त्य यस्तै हुने कुरा लगभग तय थियो भनेका छन्। 

उच्च सुरक्षा अधिकारीहरूले सम्भवतः पुटिनकै स्वीकृतिमा विमान खसाल्न आदेश दिएका हुनसक्ने उनको भनाइ छ।

जर्मनीका विदेशमन्त्री अन्नालेना बारबोकले पुटिनको रुसमा यस्तै चलन भएको टिप्पणी गर्दै भनेकी छन्, “मृत्यु, हत्या, आत्महत्या जे भए पनि कुनै पुष्टि हुँदैन।” उनले प्रिगोजिनको मृत्यु कुनै दुर्घटना नभएको बताएकी छन्।

विद्रोहको कारण

रुस–युक्रेन युद्धका क्रममा वाग्नर समूह र रुसी सेनाबीच असन्तुष्टि बढेको थियो। रुसी सेनाले पर्याप्त मात्रामा गोलावारुद र युद्ध सामग्री उपलब्ध नगराएको वाग्नर समूहको आरोप थियो। रुसी सेनाले आफूलाई होच्याउने र असहयोग गर्ने गरेको आरोप पनि लगाएको थियो। 

रुसी सेनाको व्यवहारकै कारण प्रिगोजिन क्रुद्ध बनेका थिए। उनले रुसको सैन्य नेतृत्वलाई उखेलेर फाल्ने धम्की दिएका थिए। त्यसपछि लडाईं लड्न युक्रेन पुगेको वाग्नर समूहको सेना त्यहाँबाट फर्केर रास्तोभ शहरमा पुगी रुसी सेनाको मुख्यालय घेराउ गरेको थियो। यो त्यही ठाउँ थियो जहाँबाट युक्रेन युद्धको संचालन भइरहेको थियो। 

प्रिगोजिनले त्यहाँ पुगेर यदि रुसी रक्षामन्त्री सर्गेइ शोइगुइ तथा सेनाप्रमुख वालेरी गारासिमोव उनीसँग भेट्न नआए मस्कोतर्फ अघि बढ्ने चेतावनी दिएका थिए। उनले आफ्नो मार्गमा जो आए पनि सिध्याउने धम्की दिएका थिए। 

त्यतिबेला प्रिगोजिनले यसलाई सैन्य ‘कू’ नभएर ‘न्यायको लडाईं’ बताउँदै भनेका थिए,  “यो कुनै सैन्य कू नभएर न्यायको लडाईं हो। हाम्रा गतिविधिले सैनिकको बाटोमा कुनै पनि प्रकारको अवरोध सिर्जना गर्नेछैनन् र सबै सरकारी सुरक्षा निकाय यथावत् रूपमै चल्नेछन्।” 

त्यतिबेला रुसी राष्ट्रपति पुटिनले प्रिगोजिनमाथि सैन्य विद्रोहको आरोप लगाएका थिए। सम्भवतः बेलारुसले गरेको मध्यस्थताकै कारण त्यसपछि वाग्नर समूहले त्यसपछि मस्कोतर्फ अघि बढ्ने आफ्नो निर्णय फिर्ता लिएको थियो। त्यो ‘असफल विद्रोह’पछि प्रिगोजिन रुस छाडेर बेलारुस पुगेका थिए।

पुटिनका साथी प्रिगोजिन

प्रिगोजिन पुटिनकै गृहनगर सेन्ट पिटर्सबर्गका हुन्। उनलाई १८ वर्षको उमेरमा चोरीको आरोपमा साढे दुई वर्ष सजाय सुनाइएको थियो। त्यसको दुई वर्षपछि प्रिगोजिनलाई डकैती तथा चोरीको आरोपमा १३ वर्षको जेल सजाय सुनाइएको थियो। त्यसपछि उनले ९ वर्ष जेलमा बिताएका थिए। 

जेलबाट निस्केपछि उनले सेन्ट पिटर्सबर्गमा हाँट डगको व्यापार शुरु गरे। त्यसमा राम्रो कमाइ भएसँगै उनले शहरमा महंगा रेष्टुरेन्टहरू संचालन गर्न थाले।
उनले एक डुंगालाई रेष्टुरेन्टमा परिणत गरेका थिए जसलाई ‘न्यू आइल्याण्ड’ नाम दिइएको थियो। यो रेष्टुरेन्ट नेवा नदीमा डुंगाझैँ तैरिँदै चल्थ्यो। भ्लादिमिर पुटिनलाई यो रेष्टुरेन्ट यति धेरै मन पर्यो कि उनले राष्ट्रपति बनेपछि पनि यहाँ जान छाडेनन्। त्यहीँबाट पुटिन र प्रिगोजिन निकट साथी बने।

पुटिन आफ्ना विदेशी पाहुनालाई लिएरसमेत त्यो रेष्टुरेन्टमा पुग्ने गर्थे। सन् २००० मा जापानी प्रधानमन्त्री युसिरो मोरीसँगै पुटिन त्यहाँ पुगेको कुरा प्रिगोजिनले एक अन्तर्वार्तामा उल्लेख गरेका थिए। 

केही वर्षपछि प्रिगोजिनको कम्पनी कन्कर्डलाई क्रेमलिनमा खाद्यान्न लगायतका भोजन सामग्री आपूर्ति गर्ने ठेक्का मिल्यो। त्यसपछि त प्रिगोजिनलाई पुटिनको ‘सेफ’ नै भन्न थालियो। त्यसपछि उनले बिस्तारै सैन्य तथा सरकारी विद्यालयमा पनि भोजन आपूर्ति गर्ने ठेक्का पाए। 

सन् २०१० को दशकसम्म प्रिगोजिनलाई रुसमा विपक्षीहरूको बदनाम गर्ने र पुटिनको शासनको प्रशंसा गर्ने एक मिडिया ‘ट्रोल फ्याक्ट्री’मा आबद्ध रहेको बताइन्थ्यो। सन् २०१६ मा यो कम्पनी अमेरिकी राष्ट्रपतीय निर्वाचनमा हस्तक्षेप गर्ने रुसको संगठित प्रयासको हिस्सा बनेको भेटियो। तर प्रिगोजिनले भने यस कम्पनीसँग आफ्नो कुनै आबद्धता नरहेको दाबी गरेका थिए।

 

वाग्नर समूहको शुरुवात

सन् २०१४ मा पहिलोपटक वाग्नर समूहको बारेमा जानकारी बाहिर आएको थियो। शुरुमा युक्रेनविरुद्ध रुसी सेनालाई सहयोग गरिरहेको भनिएको यो समूहका सैनिक पछि सिरिया तथा कतिपय अफ्रिकी देशमा पनि देखिन थाले। सन् २०१९ मा जब सिरियामा रुसी लडाकुबारे पुटिनसँग सोधियो, त्यसमा उनले त्यहाँ केही निजी सेक्युरिटी कम्पनी काम गरिरहेको र त्योसँग रुसको कुनै सम्बन्ध नभएको प्रतिक्रिया दिएका थिए।  

सन् २०२० मा लिबियामा रुसी सेनाको प्रयोग भएको बारेमा सोधिएको प्रश्नमा पनि पुटिनले यस्तै खाले प्रतिक्रिया दिएका थिए।

जब रुसले युक्रेनमाथि हमला गर्यो, सबै दृश्य बदलियो। रुसी सेना युद्धमा युक्रेनलाई हराउन असफल भएपछि प्रिगोजिनले रुसी सेनाको आलोचना गर्न थाले। वाग्नर समूहसँगको आफ्नो सम्बन्धबारे पनि खुलेर बोल्न थाले। अन्तिममा उनले सन् २०२२ मा आएर आफूले नै सन् २०१४ मा यस संगठनको स्थापना गरेको बताए।

युक्रेन युद्ध भन्दा पहिले वाग्नर समूहमा भर्ती हुने अधिकांश सैनिकको अवस्था सामान्य थियो। राम्रो तलब पनि पाउन गाह्रो थियो। वाग्नर समूहका सेनाको तलब १५ सय डलर हुन्छ। यदि युद्धमा पठाइयो भने दुई हजार डलरसम्म मिल्छ। 

वाग्नरका सैनिक सिरियामा राष्ट्रपति बशर अल असदको तर्फबाट लडेका थिए। लिबियामा भने संयुक्त राष्ट्रसंघबाट समर्थनप्राप्त सरकारको विरुद्ध जनरल हफ्तारको मद्दतको लागि यसले युद्धमा भाग लिएको थियो। 

एक अनुमानअनुसार सन् २०१४ देखि २०२१ को बीचमा वाग्नर समूहमा १५ हजार व्यक्ति सामेल भएका छन्। वाग्नरका सैनिकलाई विभिन्न पाँच अफ्रिकी मुलुकमा भाडामा खटाइएको छ। 

गएको सोमबार मात्र एक भिडियो क्लिप राख्दै प्रिगोजिनले आफू अफ्रिकामा रहेको बताएका थिए। त्यो भिडियोमा उनी कुनै मरुभूमिमा देखिन्छन्। हातमा राइफल हुन्छ र अलि पर सेनाहरूले भरिएको ट्रक हुन्छ। भिडियोमा उनले आफू नेतृत्वको वाग्नर समूहले थप सेना भर्ती गर्न लागेको बताएका थिए। 

दुई महिनाअघिको सैन्य विद्रोहपछि वाग्नर समूहका सैनिकहरू भागेर बेलारुस पुगेका थिए। अहिले पनि उनीहरू देश छाडिरहेका छन्। कोही कम पारिश्रमिक भएको भन्दै जागिर छाडिरहेका छन् भने कोही पश्चिमी अफ्रिकामा स्थानान्तरण हुँदैछन्। यस्तो अवस्थामा क्रेमलिनले वाग्नरको ठाउँमा अब कसलाई ल्याउला भन्ने प्रश्न पनि उठेको छ।

(एजेन्सीहरूको सहयोगमा)

साभार : उकालाे डटकम

 

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ३ : १३ बजे