माथिल्लो मनाङमा हिमपात

एमाले-राप्रपाद्वारा कोशी सभाको बैठक बहिष्कार

विराटनगर । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र राप्रपाका सांसदहरूले  कोशी प्रदेशसभाको बैठक बहिष्कार गरेपछि प्रभावित भएको छ ।

बुधबार बसेको बैठक सुरू हुनेबित्तिकै एमाले र राप्रपाका सांसदहरूले मुख्यमन्त्रीको विश्वासको मतका क्रममा सभाध्यक्षको कुर्सीबाट संविधानको उल्लंघन भएको भन्दै बहिष्कार गरेका हुन् ।

 

मुख्यमन्त्रीले विश्वासको मत लिने क्रममा सभाका अध्यक्षले अधिकारको दुरुपयोग गरेको भन्दै उनीहरूले विरोध जनाएका छन् । आजको बैठकको अध्यक्षता पनि सहभागीमध्येका ज्येष्ठ सदस्य कांग्रेसका इसराइल मन्सुरीले गरेका छन् ।

राप्रपाका संसदीय दलका नेता भक्ति सिटौलाले अमर्यादित ढंगलबाट विश्वासको मत लिने काम भएको र संसदीय इतिहासमा कहिल्यै नभएको घटना भन्दै बहिष्कार गरेको बताए ।

मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा सभाका अध्यक्ष इसराइल मन्सुरीले केहीबेर अर्कोजनालाई बोलाएर थापाको पक्षमा मत दिएका थिए । एमाले र राप्रपाका सांसदले नाराबाजी गर्दै बहिष्कार गरेपछि मन्सुरीले अनिश्चितकालका लागि बैठक स्थगित गरेका छन् । 

बुधबारको प्रदेशसभा बैठकमा प्रदेश निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन सञ्चालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गर्ने कार्यसूची थियो । प्रतिपक्षीको बहिष्कार र विरोधका कारण बैठक कार्यसूचीमा प्रवेश नै गर्न पाएन । 

मुख्यमन्त्री थापाले प्रदेशमा सहमति, सहकार्य, समझदारी र सरसल्लाहबाट नै अघि बढ्ने बताए । पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले अब सहमतिबाटै प्रदेशसभा प्रारम्भ हुने पनि उल्लेख गरे । ‘साथीहरु (प्रतिपक्षी) अलि आवेशमा आउनु भयो । सभा चल्न सकेन । अनिश्चितकालका लागि रोकिएको छ,’ थापाले भने, ‘तर, कोसीमा सहमति र सहकार्यको विकल्प छैन । सहमतिबाटै प्रदेशसभा बैठक सुरु गरेर बजेट ल्याइनेछ । सहमति भयो भने एकै दिनमा बजेट आउँछ ।’

उनले सहमति जुटाउन विपक्षीसँग वार्ताको प्रयास भइरहेको पनि बताए । प्रदेशसभामा देखिएको अन्योलताका सम्बन्धमा सर्वोच्च अदालतको आदेशलाई स्वीकार गर्ने पनि उनको भनाइ छ । ‘सर्वोच्चको आदेशलाई पालना गर्नैपर्छ । तर, सर्वोच्चबाट चाँडै निर्णय नआउँला,’मुख्यमन्त्री थापाले भने । 

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ३ : ३२ बजे