साफ यू–१७ च्याम्पियनसिप आजदेखि

कमरेड,मलाई होमवर्क दिनुहोस् न !

कमरेड म अहिले मदन भण्डारी फाउन्डेशन कोशी प्रदेशको सदस्य भएकी छु । यो जिम्मेवारी पनि बल्ल बल्ल निक्कै हल्लाखल्ला गरेर पाएकी हुँ । पार्टीमा पार्टी हितलाई टाउका भन्दा माथि राखेर काम गरे पनि उपयुक्त जिम्मेवारी पाउन पनि निक्कै र गाह्रो हुँदो रहेछ । मादी दाहाल परिवारकी सामन्ती संस्कारमा हुर्किएकी भए पनि बिहेपछिको  संगतले सुरुमा अखिल नेपाल महिला संघको साधारण सदस्य हुँदै इटहरी नगर सदस्य,सचिव र अध्यक्ष भइयो । हुँदाहुँदै लामो समय काम गर्दै गएपछि पार्टीको संगठित सदस्य पाइयो । सुनसरी जिल्लाको अनेम संघ अध्यक्ष हुने पालो थियो । सयौँ पीडित महिलाका मुद्दा समाधान गरियो । काम एउटाले गर्ने तर माम भने अर्कैले हाम गर्ने परिपाटी रहेछ, यसैले गर्दा धेरै इमानदार नेता र कार्यकर्ताले उचित अवसर र मौका नपाएको देखियो । एमालेमा सच्याउने धेरै कामहरू छन् । 

जहिले जहाँ पनि गलत तत्त्वहरू हुन्छन् । जननेता मदन भण्डारीलाई पार्टीको ऐतिहासिक पाँचौँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्न नदिने कपटपूर्ण व्यवहार गर्ने नेता थिए र आज पनि छन् । रोग थाहा पाएपछि त्यसको ओखती गर्न लागि पर्नु पर्थ्यो होला । पार्टी अध्यक्ष ओलीका विरुद्ध माकुने र उनको सुलसुले गुट ज्यान फालेर लागि परेको पनि थाहा पाइएकै हो । त्यही चरित्रका मान्छे अहिले पनि छन् । तीनै मध्येका एक नेताले भित्रभित्रै सुलसुले पारामा अनेक षडयन्त्र गरिरहेकै छन् । यसको शिकार हामी नै परिरहेका छौँ । डा. पोखरेलका कारण मलाई नै सकेसम्म तल पार्ने काम गरिरहेको देख्नु र भोग्नु परेको छ । तर काम नछाड्ने बरु लेखपढ गर्न अलिअलि बानी परेको हुँदा  समाजबाट हराइएको छैन । त्यसैले पदभन्दा पनि काम महत्त्वपूर्ण भन्ने ठानियो । र फाउन्डेशन कोशी अध्यक्ष गोपाल  गुरागाईँलाई मेरो र मैले गर्नु पर्ने जिम्माको काम के हो दिनु होस् भनेकी छु । खास काम र जिम्मेवारी ताकिए पछि काम गरे नगरेको थाहा हुन्छ । पार्टी र मोर्चाका विभिन्न तह विभाग र संगठनमा बस्ने तर काम भने एकरत्ति नगर्ने र नजान्ने कुरा जाती होइन ।  काम गरे पो काम सिकिन्छ । अध्ययन,अनुभव र उमेरले काँचो मानिस समाजमा पत्यारिलो हुन्न । 

फाउन्डेन नै के हो । यसले के के गर्ने हो । यो मोर्चा संगठन हो वा होइन । जबजको गुदी कुरा के हो । जनता कसलाई भन्छन् । मार्क्सवादका आधारभूत कुरा के हुन् । कसरी जबज मार्क्सवादको पुनः सृजन हो जस्ता कुरा केही पनि नसिक्ने नसिकाउने र सिक्ने र सिकाउने वातावरण नबनाउने हो भने कुनै पनि  संस्था हुँदैन ,सङ्ख्या  हुन्छ र भीड मात्र बन्छ । तर काम भने खासै केही हुँदैन  । बाह्र वर्ष रामायण पढ्यो सीता कसकी जोई भनेझैँ अवस्था जहाँ त्यहाँ देखिन्छ । डा. पोखरेल इटहरी लगायत विभिन्न चोक र गल्लीमा  सदा  दिनभर लुँडो खेलेर बसिरहेका जिल्ला समितिका सदस्य देखेर अचम्म मान्नु हुन्छ । कुसंगतमा परेर युवाहरू धेरै बिग्रने कुलक्षण देखा पर्न थालेको छ ।  जिल्लाका नेता नै साँझ परेपछि खुट्टा बटार्न थालेको देखेर युवाहरू त्यही सिक्छन् र बिग्रन्छन् र  बिग्रेका उदाहरण धेरै छन् । 

तमाम एमाले संगठित सदस्यहरूलाई पनि केही न केही स–साना होमवर्क दिनु पर्छ । केही न केही पढ्ने र सिक्नै पर्ने स्थिति तयार गर्नु पर्छ । अझ विभिन्न तह र जिम्मेवारीमा रहेका विभागहरूमा रहेका नेता र कार्यकर्ता आफ्नै विभागका विषय वस्तु बारे पटक्क नजान्नु जस्तो लाजमर्दो के हुन्छ । मानिलिऊँ जिल्लामा स्कुल विभाग छ । त्यो बनेको पनि तीन वर्ष भयो तर विभागका सदस्यहरू तीन वर्षमा एकपातो पनि नपढी बसेका छन् । त्यसको प्रमुख नै नपढ्नेको नमुना भए पछि उसले अरूलाई के प्रेरणा दिन्छ । अनि सबै दोष पार्टीमा लगायो बस्यो । पढ्ने लत बस्यो भने कोही पनि नपढी  बस्नै सक्तैन । यो कुरा आफैले अनुभव गरेको कुरा हो । तर यसका लागि उत्प्रेरक सहयोगीको पनि खाँचो पर्दो रहेछ । नत्र एमाले पार्टीमा केन्द्रीय सदस्यहरू सभासद्हरू र विभिन्न तह र तप्कामा अनगन्ती नेता र कार्यकर्ता छन् तर ती नामका पदका मात्रै त नहुनु पर्ने हो तर तिनको मुख र कलम चलेको खासै देखिन्न । बोल्न जान्ने र बोलिरहनेले पिठो बेचिरहेका छन् तर यतातिर चामल बेच्ने कला र गलाको अभाव जस्तो देखिन्छ । वर्तमान राष्ट्रपतिले पहिलो भाषण हिन्दीमा गर्नु भयो अनि बुद्ध भारतमा जन्मिएका भन्नु भयो । नागरिकता विधेयकमा जाली सही गर्नु  भयो । आफू बिरामी भएको दनापानीको  खर्च  आफैँ तिर्छु भनेर ढाँट कुरा गर्नु भयो । खण्डन गर्नु पर्ने कुरा कति छन् कति तर हामी महिलाहरू नै हात बाँधेर बसेको स्थिति छ । न गर्ने लाई प्रोत्साहन छ, न आफू नै गर्छन् ।  निवर्तमान राष्ट्रपति भण्डारीलाई  नभएका जति सबै नाना भाँती फतुर आरोप विरुद्ध मैले पनि लेखे र डा. पोखरेलले त धेरै नै लेख लेख्नु भयो तर उहाँका बारेमा प्रकाशित कृतिमा त्यसरी लेख लेख्नेका लेखले ठाउँ नै पाएनन् । अचम्म छ ! यसको अर्थ हामी पटक्क पढ्दैनाैँ र पढे पनि प्रतिभाको कदर गर्नु पर्छ भन्ने पटक्क जान्दैनौँ । 

महिला सभासद्हरूको काम  सदनमा जिन्दाबाद र मुर्दावाद भन्नु मतदान गर्नु मात्रै त होइन होला । उच्च तह र पदमा बसेपछि त्यसको बोली बिक्छ । बोली बिक्ने महिलाले बेलाको बोली र मौकाको काम गर्नु पर्ने  हो ।   खाली समय सिर्जनात्मक काममा भरपुर उपयोग गर्नु पर्ने  हो तर विदेशका आफन्त र परिवार जनसित सामाजिक सञ्जालमा ताल न बेतालका कुरा गरेर मात्र समय बित्तो रहेछ भन्ने सजिलै थाहा हुन्छ । किन थाहा हुन्छ भने सिर्जनात्मक काम केही त गरेको छैन । दिनभरि त्यसै रल्लिनु भन्दा छरछिमेक सित भेटघाट गरेर समसामयिक राजनीतिक सामाजिक लगायत स्थितिका बारेमा छलफल त गर्न सकिन्छ तर यसमा आफूले साथीहरूलाई चिया भने खुवाउनु पर्छ । काठमाडौँमा बस्ता वा बाहिर जाँदा वल्लोघर पल्लो घरका सित बोलचाल र भेटघाट पनि नगर्ने नेता र सभासद् के नेता ?  नेता त नेता जस्तो पो हुनु पर्ने हो , हैन र ?  

 काम गर्नेलाई कामै काम छ । नगर्नेलाई कामै छैन र देख्दैन पनि । मुट्ठी बटार्नु मात्र काम होइन त कमरेड । मदन भण्डारीले ०३७ सालतिर नेता र कार्यकर्ताले पढ्ने केही किताबहरू सुझाउनु भएको थाहा पाइयो । गुरु ज्ञानी भए मात्र ज्ञान पाइन्छ  र ज्ञान पाइने विधि र तरिका पनि सिकिन्छ । माओले सिक्न र सिकाउन कहिल्यै नथाक्नु भन्नु भएको रहेछ । ओलीले एक पटक भन्नु भएझैँ बिहान उठेर नित्य कर्म जस्तै गरेर पार्टी र मोर्चा विभाग केही चल्दैन । तर अहिले पनि धेरैतिर  उही ताल छ । सदस्यता वितरण, नवीकरण, सम्मेलन र अधिवेशन मात्र गर्ने यही  ताल छ । सम्मेलनदेखि सम्मेलनसम्म बस् काम नै यही हो र यत्ति हो । 

सुनसरी जिल्लाको फाउन्डेशन प्रथम सम्मेलनको उद्घाटन सत्रमा मैले जननेता मदनका बारेमा एउटा संक्षिप्त लेख वा विषय पत्र तयार पारेकी थिएँ । उक्त पत्र बढीमा १० मिनेटमा वाचन गर्न सकिन्थ्यो तर फाउन्डेनको  पितृ प्रधान सोचले उक्त विषयलाई पूरै बेवास्ता नै ग¥यो । तैपनि मैले उक्त दुई पन्ने विषय पत्र सहभागी सबैलाई वितरण गरिदिएँ । कम्तीमा मन राखेर काम गर्नु पर्छ भन्ने पनि हामी जान्दैनौँ । सम्मेलनमा पनि केही न केही रचनात्मक  काम गरेर गरौँ भन्न मात्र खोजेको थियो तर बुझ्नेले नै नबुझेपछि कसको के लाग्छ ? 

खसी बाख्री एउटै धोक्री गर्ने पारिपाटी व्याप्त छ, अझै । इटहरी नगर पालिकामा  आएको नयाँ नेतृत्वले  एक वर्ष भित्रमा एक निःशुल्क आधुनिक शौचालय,पूर्वमा अर्को अत्याधुनिक शौचालय बनायो । दुई वटा शव वाहन खरिद गरेर नगरवासीलाई निःशुल्क सुविधा प्रदान गरेको छ । आधा जति खाए पनि आधा मात्र सदुपयोग गर्दा काम गर्न सकिने रहेछ तर भएभरको सबै खाने र लुट्ने नियत हुँदा एमालेले पहिले इटहरीमा पाएको मौका गुमायो । एमालेको. नेता,कार्यकर्ता जन वर्गीय संगठन बौद्धिक युवा विद्यार्थी लगायत शक्ति र सामर्थ्यलाई  काँग्रेसको एक जना व्यक्तिले ठेगान लगाउनु भारी बेइज्जती हो । लौ मेयर चौधरीले धेरै बोलेर बिगारे पनि काम त बिगारेका रहेनछन् तर उनलाई असफल पार्ने कसम खाएकी उपमेयरका कारण भएभरको बदनामी पार्टीमाथि आइपरेको छ । त्यस माथि पनि जिल्ला अध्यक्ष नै नगर इन्चार्ज भएका अवस्थामा यस्ता कामहरू भए । दुई दिन पनि टिक्न र गरिखान नसक्ने लम्पट केही   कार्यकर्तालाई नेताले काँधमा हालेर पहिले त बोके बोके अहिले पनि बोक्दै गरेको देखिन्छ ।

तर कमरेड विद्यार्थी भर्ना गरेपछि र माथिल्लो कक्षामा पुग्ने बित्तिकै तह अनुसारको पाठ नपढाएर र होम वर्क नदिएर छाडा नछोड्नु होला ।  पार्टी, मोर्चा र विभागका कुनै पनि कमिटी सदस्यहरूलाई घरमै बसेर भए पनि सैद्धान्तिक वैचारिक विषयको अध्ययन गर्नै पर्ने वातावरण बनाउनु पर्छ । भुस्कुल विद्यार्थीका भरमा पार्टी अगाडि बढ्दैन । मैले अनेम संघ केन्द्रको सल्लाहकार र फाउन्डेसन कोशीको सदस्य भएर के के गर्नु पर्ने हो बेलैमा जानकारी पाउँ । माटाको मूर्ति भएर के बस्नु केही न केही गरौँ भन्ने लागेको छ ।   

 

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  २ : १६ बजे