हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

बुद्धनगरमा आतंक मच्चाउने भैंसी नियन्त्रणमा

काठमाडौं । बुद्धनगर, शङ्खमुल क्षेत्रमा आतंक मच्चाएको भैंसी पाँच घन्टापछि नियन्त्रणमा आएको छ ।

बुधबार बिहान ६ बजे एक्कासी बुद्धनगर क्षेत्रको सडकमा आएर आतंक मच्चाएको भैंसीलाई डार्ट गरेर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिनुभयाे । 

डार्ट गर्नका लागि वन कार्यालय स्युचाटारबाट टोली बोलाइएको थियो । ‘टोलीले डार्ट गरेर भैंसी नियन्त्रणमा लिइसकेको छ,’  ढुंगेलले भन्नुभयाे ।  

बुद्धनगरको सडकमा आएको भैंसी नियन्त्रणमा लिन प्रहरी वृत्त नयाँबानेश्वरको टोली खटिएको थियो । प्रहरीले  नियन्त्रणमा लिन नसकेपछि सशस्त्र प्रहरीको टोली पनि परिचालन गरिएको थियो । भैंसी बुद्धनगर, ढुंगेधारा हुँदै शङ्खमुलको ज्ञान निकेतन स्कुलको कम्पाउन्डमा पुगेपछि नियन्त्रणमा लिइएको हो । 

मार्न खोजिएको भैंसी ज्यान बचाएर भागेको प्रहरीको अनुमान छ। उसको एउटा सिङ भाँचिएको छ। भैंसीको आक्रमणबाट ढुंगेधारमा एक महिला घाइते भएकी छन् भने २ वटा कारमा क्षति पुगेको एसपी ढुंगेलले जानकारी दिनुभयाे ।

भैंसी कहाँबाट आयो भन्ने कुरा बुझ्ने प्रयास भइरहेको उहाँले बताउनुभयाे ।
 

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  १२ : २३ बजे