प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज अपराह्न ३ः०० बजे बस्ने भएको छ । 

मङ्गलवार निर्धारित बैठक विशेष कारणवश बस्न नसकेकाले बैठक आजका लागि सारिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । 

सो बैठक बस्न नसक्ने भएकाले सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३)बमोजिम आज अपराह्न ३ः०० बजे बस्ने गरी निर्धारण गर्नुभएको संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिनुभयो ।

आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ ।

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नुभएका नेकपा एमालेका सांसद (सचिव) टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी सभामुखले गराउनुहुने छ ।

उता, बाधा अड्काऊ फुकाऊ आदेश पेस गर्ने सिलसिलामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यविधि थप गर्ने प्रस्ताव पेस गर्नुहुने छ ।

साथै शिक्षा मन्त्री अशोककुमार राईले राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई बफादार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेस गर्नेछन् भने सभामुखले १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सांसदहरूको सूचनाहरू सभाको स्वीकृतिका लागि पेस गर्ने कार्यसूची रहेको छ ।

विषयगत समितिको सदस्य हेरफेरदेखि १० पटकसम्म बैठकमा अनुपस्थित सांसदहरूको नामावली वाचन गरेर सुनाइने छ । संसदीय समितिका सदस्यहरूको नामावली हेरफेरको सूचना पनि जानकारी गराइनेछ ।

 

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ७ : ३५ बजे