माथिल्लो मनाङमा हिमपात

खिमलाल देवकोटाको माग : नक्कली भूटानी शरणार्थी प्रकरण छानबिन समिति बन्नुपर्छ

काठमाडौं । राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले नक्कली भूटानी शरणार्थी प्रकरणको छानबिनका लागि पनि समिति गठन गर्नुपर्ने माग गर्नुभएको छ । 

 

सुन तस्करी भन्दा पनि ठूलो लज्जाको विषय बनेको नक्कली भूटानी शरणार्थी प्रकरणको छानबिनबारे सरकार र राजनीतिक दलहरू किन चुपचाप ? रहेको भनी उहाँले प्रश्न समेत गर्नुभयो । मंगलवार राष्ट्रिय सभा बैठकमा बोल्दै  सांसद देवकोटाले सुन तस्करी वा अन्य छानबिन समिति बनाउँदा संसदीय छानबिन समिति नै बनाउन उपयुक्त तर्क समेत गर्नुभयो । संसद् जनताको विश्वासयोग्य र भरोसायोग्य थलो भएकोले कुनै पनि प्रकारको छानबिन गर्नका लागि संसदीय समिति नै बनाउनुपर्ने सांसद देवकोटाको भनाई थियो ।  

 

उहाँले भन्नुभयो, ‘सत्तापक्ष र विपक्ष दलकाबीच सुन तस्करी सम्बन्धी उच्चस्तरीय छानबिन समिति बनाउने भन्ने जुन सहमति भएको छ । एयरपोर्टजस्तो संवेदनशील स्थानबाट क्विन्टलका क्विन्टल सुन तस्करी हुनु राष्ट्रिय, अन्तर्राष्ट्रिय लज्जाको विषय थियो, छ । तर यो भन्दा पनि लज्जाको विषय नक्कली भूटानी शरणार्थी सम्बन्धी विषय हो । तर यसमा दलहरू किन बोल्दैनन्, किन चुपचाप छन् ? यसको पनि छानबिन समिति बनाइयोस् । बहालवाला वा निवृत्त न्यायाधीश वा अन्य कुनै नागरिकको संयोजकत्वमा संसद् भन्दा बाहिरको व्यक्ति राखेर बनाइएको छानबिन समिति भन्दा सार्वभौमसत्ता सम्पन्न संसद्को समिति बनाउँदा बढी विश्वासयोग्य हुन्छ, भरोसा योग्य हुन्छ भन्ने मेरो धारणा हो । यसमा दलहरूले ध्यान दिनुप¥यो ।’

सांसद देवकोटाले सत्तापक्ष र प्रतिपक्ष दुवै मिलेर संसद् बैठक अवरुद्ध पारेको आरोप लगाउँदै आक्रोश समेत व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ५ : ३६ बजे