अस्पतालसँगको मिलेमतोमा बच्चा बेपत्ता

विराटनगर । विराटनगरको एक अस्पतालबाट युवतीले जन्माएको बच्चा हराएको छ।

२६ वर्षीय अविवाहित युवतीले छोरीलाई जन्म दिएकी थिइन् । प्रेमीसँगको शारीरिक सम्पर्कबाट गर्भवती भएकी युवतीलाई गत असार १३ गते दिउँसो अस्पतालमा भर्ना गरिएको थियो । भोलिपल्टै उनले छोरी जन्माएकी थिइन् ।

शिशु बेपत्ता पारेको आरोपमा प्रहरीले ६८ वर्षीय डाक्टर तपेश्वरलाल कर्ण र बच्चाको बाबु भनिएका ति युवतीकी प्रेमी गोविन्द राईलाई पक्राउ गरेको छ। किशोरी र उनको प्रेमी भोजपुरको हतुवा गढी गाउँपालिका-४ का २७ वर्षीय राई दुईवर्षदेखि प्रेम सम्बन्धमा रहेको अनुसन्धानबाट खुलेको छ ।

विवाह अघि नै प्रेमिका गर्भवती भएपछि युवकले युवतीलाई अस्पताल लगेका थिए । युवतीले बेथा लाग्ने औषधि खुवाएर प्रसूति गराएपछि युवतीलाई अस्पतालले असार १४ गते दिउँसो डिस्चार्ज गरेको थियो । गोविन्दले बच्चालाई केही दिन अस्पतालमै राख्नुपर्ने भयो भन्दै किशोरीलाई ढाँटेर इटहरी पुर्‍याएका खुलेको छ ।

असार १६ गते इटहरीस्थित ति युवतीलाई राखेको होटलबाट गोविन्द बाहिरिएका थिए । त्यसपछि उनी युवतीबाट सम्पर्कविहीन भएका थिए । अस्पतालसँगको मिलेमतोमा बच्चा गायब बनाएको उनले बताएकी छिन् ।

प्रहरीलाई गोविन्दले आफूले शिशु नलिएको बयान दिएका छन् । अस्पताल प्रशासनले भने अभिभावकलाई नै बच्चा जिम्मा लगाएको जनाएको छ । अस्पतालको रेकर्डमा गोविन्दको नाम मानबहादुर तामाङ र युवतीको फूलकुमारी तामाङ तथा ठेगाना सुनसरीको रामधुनी–११ उल्लेख छ ।

पक्राउ परेका डाक्टर बिरामी भएर अस्पताल भर्ना भएका कारण प्रहरीले उनीसँग सोधपुछ गर्न सकेको छैन ।

प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  २ : ५९ बजे