सदनको अवरोध खुलाउने विषयमा छलफल गर्न सभामुखले बोलाउनुभयो प्रमुख सचेतकहरूको बैठक

काठमाडौँ । सभामुख देवराज घिमिरेले सदनको अवरोध खुलाउने विषयमा छलफल गर्न सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाउनुभएको छ ।

सभामुख घिमिरेले सिंहदरबारस्थित उहाँको कार्यकक्षमा आज बिहान ११ः०० बजे सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाउनुभएको हो ।

बैठकमा सत्तापक्षबाट नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुने जनाइएको छ  । 

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजेका लागि बोलाइएको छ । एमालेको अवरोधका कारण संसद्का दुवै सदनको बैठक चल्न सकेको छैन । 

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ९ : ४८ बजे