हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

भत्किएको महानगरलाई कसले बनाउने ? (फोटोफिचर)

काठमाडौं ।  महानगरपालिका भित्रका क्षेत्र अहिले अस्तव्यस्त र अव्यवस्थित छन् ।

महानगर भित्रका संरचनाहरु भत्काइएका छन् तर बनाइएका छैनन् । सार्वजनिक एवं सरकारी जग्गाहरु मिचेर निजी स्वार्थका लागि संरचना बनाउनु गलत हो । त्यसैले पनि काठमाडौं महानगरपालिकाले त्यसरी निर्माण गरिएका संरचना भत्काइदिएको छ । यतिसम्म की खहरे खोला, नदीहरु मिचेर समेत घर, भवनहरु निजी स्वार्थका लागि बनाइएको पाइएको छ ।

केही दिनअघि मात्रै खहरे खोला मिचेर बनाइएका कपन क्षेत्रका घरहरुमा महानगरले डोजर चलाएको थियो । त्यतिमात्रै होइन, हात्तिसारमा टुकुचा खोला मिचेर बनाइएका संरचना, सामाखुशीमा नदी उत्खनन, रत्नपार्कमा हडपेर राखिएका पसलहरु लगायत मिचेर बनाइएका संरचना महानगरपालिकाले भत्काउँदै आएको छ । तर यसको असर र यसबाट मानव स्वास्थ्यमा उत्पन्न हुने समस्याका बारेमा महानगर अनविज्ञ झैँ छ । भत्काइदिएको त छ तर त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने योजना महानगरको हालसम्म पनि देखिँदैन । महानगर क्षेत्रमा अव्यवस्थित र सार्वजनिक सम्पती हडपेर बनाइएका संरचनामा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले डोजर लगाएका त छन् तर त्यसलाई व्यवस्थित बनाउने योजना उनीबाट अहिलेसम्म पनि आएको देखिँदैन । किनभने महानगरपालिकाले संरचनाहरु भत्काएर मात्रै छोडेको छ, बनाउन थालेको कतै छैन ।

भत्काइएका संरचनामाथि झारपात उम्रिसकेका छन् । सामाखुशी नदी उत्खननपछि खोला किनारका पसलहरुको अस्तव्यस्तता हेर्नुहोस् वा रत्नपार्कका पसलहरु हटाएर सार्वजनिक शौचालय निर्माणका लागि सम्याइएको जमिनको अवस्था हेर्नुहोस्, अवस्था भद्रगोल छ । कपनका खोला उत्खननपछिको अवस्था होस् वा अनामनगरस्थित सार्वजनिक जग्गामा बनेको भद्रकुमारी घले आश्रमको घर भत्काइएपछिको दुरावस्था हेर्नुहोस् । कतैपनि भत्काइएपछि व्यवस्थित बनाइएको छैन । त्यसैले महानगरपालिकाले भत्काउनेसँगै व्यवस्थित र नागरिकलाई हिँडडुल गर्न सहज बनाइदिनेसँगै काठमाडौंलाई अझ सुन्दर बनाउने काममा लाग्दा अझ उपयुक्त र नागरिक जनप्रतिनिधिप्रति आशावादी हुनेछन् ।

​​​​​​​​​​​​​​

 

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  ६ : ०९ बजे