हनुमान ढोकाको दसैँघरमा फूलपाती

विद्यार्थीमाथि निर्घात कुटपिट गर्ने प्रअलाई गाउँपालिका अध्यक्षकै संरक्षण

सिन्धुपाल्चोक ।  गृहकार्य नगरेको भन्दै सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका स्थित गोल्मुराजा आधारभूत विद्यालयका प्रधानाध्यापक रामानन्द शाहले विद्यार्थीमाथि निर्घात कुटपिट गरेका छन् ।

त्रिपुरासुन्दरी २ बस्ने उत्सव थामीलाई गृहकार्य नगरेको भन्दै प्रधानाध्यापकले आफ्नै कार्यकक्षमा बोलाई निर्घात कुटपिट गरेका हुन् । 

कुटाइबाट घाइते भएका थामीको खुट्टामा गहिरो चोट परेको परिवारले जनाएको छ । 

प्रधानाध्यापक शाहसहित केही स्थानीयहरू मिलेर घटनालाई सामसुम पार्न थामीलाई उपचार गराएर घर पठाएका थिए । तर घटना छताछुल्ल भएपछि प्रअ शाह अहिले फरार छन् ।  

गाउँपालिका अध्यक्षकै संरक्षणमा शाह फरार 

घटनालाई सामसुम पार्न त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भत्तध्वज बोहराकै संरक्षणमा प्रअ शाहलाई लुकाइएको छ । प्रअ शाह नेपाली काँग्रेस शुभेच्छुक व्यक्ति रहेकाले फरार गरिएको घाइते थामीका बाबू राज थामीले बताए । उनका अनुसार घटनालाई सामसुम पार्न नेपाली काँग्रेसका नेताहरू,गाउँपालिका अध्यक्ष लगायतले पारिवारिक टचर समेत दिने गरेका थिए । 

यस विषयमा गाउँपालिका अध्यक्ष भत्तध्वज बोहरासँग चक्रपथ डटकमले कुराकानी गर्दा आफूले शिक्षकलाई २४ घण्टे स्पष्टीकरण सोधेको र त्यसको जवाफ आफू अहिले जाइकाको कार्यक्रमको लागि धुलिखेलमा रहेकाले केही थाहा नभएको बताए । तपाईँकै संरक्षणमा शिक्षक लुकाइएको आरोप छ भन्ने चक्रपथको प्रश्नमा उनले आफू गाउँपालिकाको अध्यक्ष भएकाले गाउँपालिकाभरिका सबै शिक्षकको संरक्षक भएको बताए । ‘म गाउँपालिकाको अध्यक्ष हुँ त्यहाँ भएका सबै शिक्षकको संरक्षक हुँ । यसको अर्थ म असल शिक्षकहरूको मात्र संरक्षक हुँ कुनै पनि बदमासीको  संरक्षक म हैन, हुन पनि सक्दिन शिक्षकको स्पष्टीकरण आएपछि के कारबाही गर्नु पर्ने हो गर्छु’,उनले भने । उनले यस विषयमा गाउँपालिकाले उपयुक्त न्याय दिने भन्दै आश्वस्त हुन आग्रह गरे ।  ‘ यो ऊ हेर्दिन कारबाही हुन्छ यस्ता कुरा त म मिलाई हाल्छु नि तपाईँहरूले चिन्ता गर्नै पर्दैन’,उनले भने । 

राज्यको नीति विरुद्ध शिक्षक शाहले विद्यार्थी कुट्नु दुखद भएको उनले बताए । उता अध्यक्ष बोहराको कुरा भने पत्याउन नसकिने अवस्थामा पुगेको अनेरास्ववियुको भनाई छ । विद्यार्थीलाई निर्घात कुटपिट भएको एक साता बितिसक्दा पनि अध्यक्ष बोहराले कुनै कारबाही नगरी गफमै भुलाउन खोजेको उनीहरूको भनाई छ । 

तत्काल कारबाही नभए गाउँपालिका घेराऊ गर्ने अनेरास्ववियु सिन्धुपाल्चोकका  सह संयोजक नवीन पाण्डेले बताए । विद्यार्थीमाथि निर्घात कुटपिट हुनु र घटना लुकाउन खोजेर राजनीतिक संरक्षण गर्नु दुखद भएको भन्दै दोषी माथि कडा कारबाही गर्न उनले माग गरे ।

शाहलाई प्रधानाध्यापकबाट हटाउने निर्णय
विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक रामानन्द शाहलाई प्रधानाध्यापकबाट हटाउने निर्णय गरेको छ । शुक्रबार बसेको बैठकले प्रअ शाहलाई हटाउने निर्णय गरेको हो । समितिले २४ घण्टे स्पष्टीकरण सोधे पनि स्पष्टीकरण नदिएपछि शाहलाई हटाउने निर्णय गरेको हो । समितिले उपचार वापतको रकम समेत शाहबाट असुल उपर गर्नुपर्ने निर्णय गरेको छ । 

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ६ : ४१ बजे