सुनको मूल्यमा नयाँ कीर्तिमान

एसिया यु–२० रग्बी सेभेन्सको तयारी पूरा

काठमाडौं । नेपाल रग्बी सङ्घले शनिवारदेखि सुरु हुने एसिया यु–२० रग्बी सेभेन्सको तयारी पूरा भएको जनाउँदै नेपालको दुवै टोली फाइनलसम्म पुग्ने आशा व्यक्त गरेको छ । 

नेपालमा दोस्रो पटक हुन लागेको एसिया रग्बीको प्रतिस्पर्धा शनिवारदेखि दशरथ रंगशालमा सुरु हुँदै छ । सङ्घले शुक्रवार दशरथ रङ्गशालामा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताका लागि आफ्नो सम्पूर्ण तयारी पूरा भएको र प्रतिस्पर्धामा सहभागी हुने आठ टोली पनि नेपाल आइसकेको जानकारी दिएको छ । एसिया रग्बीको आयोजना र नेपाल रग्बी सङ्घको व्यवस्थापनमा हुने उक्त प्रतियोगितामा नेपालका पुरुष र महिला दुवै टोलीले प्रतिस्पर्धा गर्दैछन् । एसिया रग्बी सेभेन्समा पुरुष र महिलामा गरी नेपालसहित आठ राष्ट्रको सहभागिता रहनेछ । 

पुरुषतर्फm नेपाल समूह ‘बी’ छ । प्रतियोगिताकै बलियो टोलीका रूपमा हेरिएको हङकङसहित यस समूहमा भारत र मलेसिया छन् । यो समूहमा विजेता बन्दै उपाधि दाबेदारको रूपमा आफूलाई उभ्याउने तयारी नेपालको छ । तर, त्यसका लागि नेपालले पहिलो खेलमा भारतको चुनौती पार गर्नुपर्नेछ । महिलातर्फ भने राउन्ड रोविन लिगमा खेल हुनेछ । चार राष्ट्र सहभागी लिगको शीर्ष दुईमा रहँदै नेपाली महिला टोलीले फाइनलमा पुग्ने लक्ष्य लिएका छन् । महिलातर्फ भने नेपालले पहिलो खेलमा हङकङको सामना गर्नेछ । 

यस खेलमा करिब दुई सय विदेशी खेलाडी र २५ जना खेल निर्णायक नेपाल आएको सङ्घले जनाएको छ । यसै प्रतियोगिताका लागि एसिया रग्बीका अध्यक्ष कायस अल धलाई नेपाल आइसकेका छन् । नेपालले उपाधि जित्ने लक्ष्यका साथ तयारी गरेको सङ्घका महासचिव गोविन्द घिमिरेले बताए । प्रतियोगिताका लागि पछिल्लो डेढ महिनादेखि तयारी गरिरहेको र नेपालका दुवै टोलीले उपाधि जित्ने विश्वास घिमिरे व्यक्त गरेका छन् । 

यही आयोजनालाई लक्षित गरेर नेपालका दुवै युवा टोलीले पोखरामा ४५ दिनको बन्द प्रशिक्षण गरेका थिए । खेल आयोजना नजिकिएपछि काठमाडौं फर्किएका नेपाली टोलीले पछिल्लो ६ दिनदेखि दशरथ रङ्गशालामा अभ्यास गर्दै आइरहेका छन् । दुवै टोली श्रीलङ्काली प्रशिक्षक सन विजेसिंघले प्रशिक्षणमा छन् । महिलातर्फ २२ प्रारम्भिक टोलीको पोखरामा डेढ महिनाको प्रशिक्षणबाट १५ सदस्यीय टोली घोषणा गरिएको थियो । पुरुषतर्फ पनि २९ सदस्यीय प्रारम्भिक टोलीबाट १६ सदस्यीय नेपाली टोली घोषणा गरिएको हो । 

पुरुषतर्फ पूर्वराष्ट्रिय खेलाडी विराट ऐडी र महिलामा सावित्री पूर्जाले श्रीलङ्काली प्रशिक्षक विजेसिंघेको प्रशिक्षण टोलीलाई सघाउनेछन् । नेपालमा भएको पछिल्लो संस्करण यु–१८ रग्बी सेभेन्सका विजेता संयुक्त अरब इमिरेट्स (युएइ) ले यो प्रतियोगितामा प्रतिस्पर्धा गरेको छैन । यद्यपि, यूथको प्रतिस्पर्धामा बलियो मानिएको हङकङ भने उपाधि जित्ने लक्ष्यका साथ आएको छ । मलेसियाले पनि बलियो दाबेदारी दिने लक्ष्य बनाएको छ ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ५ : ४६ बजे