हनुमान ढोकाको दसैँघरमा फूलपाती

मुगु जीप दुर्घटनामा परेकाहरुकाे शव ५ दिनसम्म पोष्मार्टम नहुँदा गाउँ नै दुर्गन्धित

मुगु । सोमबार मुगुमा भएको जीप दुर्घटनाका ज्यान गुमाएकाहरूको ५ दिन बितिसक्दा पनि पोष्टमाटम हुन नसक्दा स्वास्थ्य चौकी हाता दुर्गन्धित बनेको छ । दुर्घटनामा मृत्यु भएकाहरूको शव कुहिन थालेपछि  विभिन्न रोगका बिरामीहरू  स्वास्थ्य चौकी नै आउन छोडेका छन् । 

सोमबार बेलुका ४ बजे सोरु गाउँपालिकाबाट मुगु जिल्ला सदरमुकाम गमगढीतर्फ आउँदै गरेको ग १ ज ७७६२ नम्बरको बोलेरो जिप सोरु गाउँपालिका ७ चिप्लेगाडामा दुर्घटना हुँदा जिपमा सवार ५ जनाको मृत्यु भएको थियो भने ४ जना घाइते भएका थिए । घाइते चारै जनालाई मंगलबार दिउसो थप उपचारका  लागी नेपाली सेनाको हेलिकप्टरबाट नेपालगंज लगिएको थियो । घटना स्थल मै मृत्यु भएका हुम्ला जिल्ला सर्केगाड २ रिपगाँउ राम परियार ,प्रकाश बोहोरा, राम परियार र हुम्ला कै पिउस परियारको शवलाई घटना स्थल नजिकै रहेको जिमा स्वास्थ्य चौकीमा राखिएको थियो भने उपचारका लागी जिल्ला अस्पताल मुगु ल्याउँदै गर्दा बाटोमा मृत्यु भएका मुगु सोरु ५ का वडा सदस्य लोकजंग नेपालीको लास जिल्ला अस्पतालमा राखिएको छ । 

मृतकका आफन्तहरूले उचित क्षतिपूर्ति माग पुरा नहुँदासम्म लास नबुझ्ने अडान राखेपछि बिगत पाँच दिनदेखि मुगुको जिमा स्वास्थ्य चौकीमा जीप दुर्घटनामा बितेकाहरूको शव त्यतिकै राखिएको छ । 

गर्मीको समयमा लास कुहिएर सड्न थालेपछि गाउँ नै दुर्गन्धित बनेको र विभिन्न रोगलागि उपचारका लागि आउने बिरामीहरू पनि आउन छाडेको सोरु जिमा स्वास्थ्य चौकी तारापानीका  इन्चार्ज कर्णबहादुर सावतले बताउनु भयो । 

सोरुगाउँपालिकाको सबैलाई पायक पर्ने ठाउँ जिमा स्वास्थ्य चौकी सिप भएकाले दैनिक जसो विभिन्न रोगका बिरामीहरू ख्याल्च, बम्च, सिरुपाटा, नुवाकोट, गिलाहाँ, जिमा ,कालै,गयलपानी, तारापानी र सिपका गरी दैनिक ४० देखि ५० जना बिरामी उपचारको लागि स्वास्थ्य चौकी आउने गर्दथे । 

मृतकहरूको पोष्टमार्टमका लागी चिकित्सकहरूको टोली मंगलबार नै सोरु जिमा स्वास्थ्य चौकी तारापानीमा पुगे पनि मृतकका आफन्तहरूले लास नबुझिदिँदा पोस्टमार्टम हुन नसकेको हो ।

आफन्तहरूले मृतकका लासहरू घर पु¥याई दिन पहल गर्नुपर्ने,परिवारहरूको भरण पोषणका लागी आर्थिक सहयोग गर्नु पर्ने,गाडी धनीले आर्थिक क्षतिपूर्ति  दिनु पर्ने जस्ता माग राखेर लास नबुझिदिँदा पोस्टमार्टम हुन नसकेको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले बताउनु भयो । 

‘मृतकका आफन्तहरूलाई लास बुझी पोस्टमार्टममा सहयोग गरिदिनुस्,क्षतिपूर्ति,राहत र लास घरसम्म पु¥याउन गृह मन्त्रालय तथा प्रदेश सरकारलाई अनुरोध पत्र पठाउँछु भन्दा पनि मानी रहनु भएको छैन । आफन्तहरूले गाडी धनीको रोहभरमा कागज गर्नुपर्ने, विश्वास लाग्दो पहल हुने पर्ने भनी रहनु भएको छ ।’, प्रमुख जिल्ला अधिकारी थापाले बताउनु भयो ।

 मृतकका आफन्तहरूलाई घटना स्थलसम्म आउन ३ दिन लाग्छ । गरिब आर्थिक अवस्था कमजोर भएका र त्यसमाथि शोक परेका बेला आफन्तहरू मृतकको दाहसंस्कार कसरी गर्ने भनेर चिन्तित छन् । सरकारले लासलाई घरसम्म पु¥याईदिए गाउँघरमा दाहसंस्कार गर्न सहज हुने थियो मृतकका आफन्तहरूको माग  छ ।

कणाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मिति २०८० साउन ३० गते नेपाल सरकार गृह मन्त्रालयलाई पत्र लेख्दै घाइतेलाई नेपालगंजसम्म र मृतकका लासलाई हुम्ला सर्केगाढसम्म हेलिकप्टर मार्फत पु¥याईदिन र सो को खर्च मन्त्रालयले नै व्यहोर्ने बताएपनि नेपाली सेनाको हेलिकप्टरले घाइतेको मात्र उद्धार गर्दा लासहरू ५ दिनदेखि स्वास्थ्य चौकीमा सड्दै गएका हुन ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ९ : ५१ बजे