हनुमान ढोकाको दसैँघरमा फूलपाती

सफलता केवल ग्रेडद्वारा परिभाषित हुँदैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सफलता केवल ग्रेडद्वारा परिभाषित नहुने बताउनु भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८० वैशाख २६ देखि जेठ ५ गतेसम्म सञ्चालित कक्षा १२ को परीक्षामा उत्तीर्ण भएका सम्पूर्ण विद्यार्थीलाई बधाई दिँदै उहाँले यस्तो बताउनु भएको हो ।

विद्यार्थीलाई बधाई दिँदै उहाँले भन्नुभएको छ बरु तपाईँले आर्जन गर्नुभएको ज्ञान, विकास गर्नुभएको चरित्र र आफू वरपरको संसारमा पार्नु भएको सकारात्मक प्रभावबाट निर्धारित हुन्छ ।

सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ-

लामो समयको समर्पण, कडा मेहनत र लगनशीलताको परिणामस्वरूप आज तपाईँहरूले आफ्नो शैक्षिक यात्राको कोशे ढुङ्गा पार गर्नुभएको छ । तपाईँहरूको यस सफलतामा म अत्यन्त हर्षित छु ।

अब तपाईँहरू आफ्नो जीवनको अर्को अध्यायमा प्रवेश गर्दै हुनुहुन्छ । चाहे त्यो उच्च शिक्षाको खोजी होस्, व्यावसायिक मार्गहरूको खोजी होस् वा आफ्ना रुचिका विविध क्षेत्रलाई अँगाल्नुहोस्, तपाईँले आज पर्यन्त प्राप्त गर्नुभएको ज्ञान र अनुभवहरू अवश्य नै उपयोगी हुनेछन् । जीवनमा तपाईँले सामना गर्ने प्रत्येक चुनौतीहरू नै तपाईँका लागि सिक्ने, आफूलाई सुदृढ बनाउने र अगाडि बढ्ने अवसरका रूपमा परिणत हुनेछन् । सफलता केवल ग्रेडद्वारा परिभाषित हुँदैन, बरु तपाईँले आर्जन गर्नुभएको ज्ञान, विकास गर्नुभएको चरित्र र आफू वरपरको संसारमा पार्नु भएको सकारात्मक प्रभावबाट निर्धारित हुन्छ ।

आउँदो दिनको तपाईँको सफलताले तपाईँको परिवार , समाज र राष्ट्रलाई नै योगदान पुग्नेछ । पुन सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा बधाई र शुभकामना ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ८ : ५३ बजे