हनुमान ढोकाको दसैँघरमा फूलपाती

दाङमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु 

घोराही । दाङमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । 

बङ्गलाचुली गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेकामध्ये एक जनाको मृत्यु भएको हो । 

जङ्गली च्याउ खाएर बिरामी परेकी बङ्गलाचुली गाउँपालिका–४ निवासी ११ वर्षकी अस्मिता सुनारको मृत्यु भएको वडाध्यक्ष डासबहादुर डाँगीले जानकारी दिनुभयो । 

उहाँका अनुसार अस्मितालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारपछि मङ्गलवार साँझ थप उपचारका लागि बुटवल लगिएकोमा बुटवलमा मृत्यु भएको हो । 

मृतक अस्मिताको आमा २७ वर्षीया ईश्वरी सुनारको पनि अवस्था गम्भीर रहेको छ । उहाँको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आइसियुमा राखेर उपचार भइरहेको छ । उहाँका श्रीमान् अजय सुनारको पनि प्रतिष्ठानमै उपचार भइरहेको छ । 

जङ्गलमा भेटिएको च्याउ पकाएर खाँदा बङ्गलाचुली गाउँपालिका–४ मा एकै घरका तीन जना बिरामी परेका थिए । 

–––

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ७ : २९ बजे