मिटरब्याजको धन्दा चलाई करोडौँ ठगी गरेको आरोपमा वडा सदस्य पक्राउ

​​​​​​​काठमाडौँ ।नेपाली  काँग्रेसबाट निर्वाचित एक जनप्रतिनिधि करोडौँको ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।

प्रहरी कार्यालय टेकुले  सूर्य विनायक नगरपालिका वडा नं. २ का वडा सदस्य भगत रानाभाटलाई पक्राउ गरेको हो । 

काँग्रेसबाट निर्वाचित रानाभाटले मिटर ब्याजीको रूपमा करोडौँ ठगी गरेको उजुरी परेपछि प्रहरीले उनलाई भक्तपुरबाट पक्राउ गरेको हो । 

सानुभाई लोहार, पुतली कामी, थलबहादुर कामी र सहबहादुर कामीले वडा सदस्य रानाभाटविरुद्ध ठगीको मुद्दा दर्ता गर्नुभएको थियो । रानाभाटलाई  २९ गते पक्राउ गरी ३० गते पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ ।

वडा सदस्य रानाभाटले जग्गा आफ्नो नाममा नामसारी गरी तेजबहादुर खड्कालाई १७ लाख ऋण दिएको बताइएको छ । आफूले लिएको रकमको साँवा व्याजसहित फिर्ता गरी जग्गा बेचबिखन गर्ने तयारीका साथ कुरा गर्दा रानाभाटले साढे दुई करोड दिए मात्र उक्त जग्गा फिर्ता दिने नत्र फिर्ता नगर्ने बताएपछि पीडितहरू बाध्य भएर न्यायको लागि प्रहरीमा उजुरी दिन गएका थिए । 

पीडितहरूले वडा सदस्य रानाभाटले आफूहरूसँग साढे दुई करोड मागेको अडियो समेत प्रहरीमा बुझाएका छन् । 

काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि भएको हुँकार र पहुँचकै भरमा रानाभाटले  गरिबको सम्पत्ति हडप्ने कार्य गरेको पीडितहरूको गुनासो  छ । रानाभाट विरुद्ध म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेकाले घटनाको वास्तविकता र कति रकम ठगी गरिएको हो भन्ने टुङ्गोमा पुगी नसकिएको  प्रहरीले बताएको छ । उजुरीबारे थप अनुसन्धान गरी कानुनी प्रक्रिया बढाइने र दोषी प्रमाणित भए सोही अनुसारको कारबाही हुने प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ६ : ०३ बजे