उत्तरपुस्तिका साटेको आरोपमा दुई जना रंगेहात पक्राउ

वीरगन्ज । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसका बिधार्थीलाई उतिर्ण गराउन उत्तरपुस्तिका साटेको आरोपमा पर्सा प्रहरीले २ जनालाई रंगेहात पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा ठाकुुरराम बहुमुखी क्याम्पसका परिक्षा शाखाका पूर्व प्रमुख मोहन यादव र त्रिजुद्ध मावि परीक्षा केन्द्रका परिक्षा प्रमुख विनोद स्वर्णकार रहेका छन् । 

उनीहरुले ७००१५१८८७ सिम्बल नम्बर भएको ठाकुरराम क्याम्पसमा अध्ययनरत बिमा कुमारी यादवलाई उतिर्ण गराउन उत्तरपुस्तिका साट्न लागेको अवस्थामा प्रहरीले रंगेहात पक्राउ गरेको थियो ।

आज परिक्षाको अन्तिम समयमा ठाकुर राम क्याम्पसका  पूर्व परीक्षा शाखाका प्रमुख यादवले छात्रा बिमा कुमारी यादवसंग भएको उत्तरपुस्तिकाको सट्टा बाहिरबाट उत्तर लेखिएको अर्काे उत्तरपुस्तिका ल्याई त्रिजुद्ध माविका परिक्षा केन्द्र प्रमुख स्वर्णकारलाई राख्न दिँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक विदुर सिवाकोटीको नेतृत्वमा खटिएको  प्रहरी टोलीले उनीहरुलाई रंगेहात प्रकाउ गरेको थियो । ठाकुरराम बहुमुखी क्याम्पसको बीबीएस दोश्रो वर्षको परिक्षा वीरगञ्जस्थित त्रिजुद्ध मावि परीक्षा केन्द्रमा भई रहेको छ ।

आज अंग्रेजी विषयको परिक्षा रहेको थियो । यसअघिका विषयहरुमा समेत उत्तरपुस्तिका साट्ने चलखेल भएको त्रिजुद्ध माविका कर्मचारीले बताएका छन ।

त्रिजुद्ध परीक्षा केन्द्रका एक कर्मचारीका अनुसार यादव र स्र्वणकारले सो बापत प्रति बिधार्थीसंग ३०–३५ हजार रकम लिदै आएको खुलेको छ  । 

उत्तरपुस्तिका साटेर बिधार्थीहरुलाई उतिर्ण गराउने काम भइहरको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी टोलीलाई परिक्षा केन्द्रमा खटाइएको थियो । 

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल साहले जानकारी दिनुभयो ।

पक्राउ परेका अभियुक्तलाई शिक्षा ऐन–२०२८ को दफा १७ अनुसार मुद्धा दर्ता गरि कारबाही प्रकृया अगाडि बढाइने प्रहरी उपरीक्षक शाहले बताउनुभयो ।

शिक्षा ऐन–२०२८ को दफा १७ मा प्रश्नपत्रको गोपनियता भंग गरेमा वा अरुको परीक्षा दिएमा वा परीक्षाको मर्यादा भङ्ग गरेमा त्यसमा संलग्नलाई कसूरको मात्रा हेरेर १ लाख रुपैयाँ जरीबाना वा ६ महिना कैद वा दुवै सजाय हुनसक्ने उल्लेख गरिएको छ ।
 

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ४ : ४१ बजे